Saturday, September 26, 2026
नेपाली कांग्रेसको समानान्तर महाधिवेशन तयारी
Friday, September 25, 2026
बाढीकाे बितण्डामा समेत इन्धन आपूर्ति सेवा निरन्तर
रसुवा, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया आयल ट्रेडर्स ठूलो वित्तीय क्षती र पारिवारिक संकटमा परे पनि सञ्चालक समूहले रसुवामा इन्धन आपूर्ति सेवा निरन्तरता दिएको छ।
बाढीकाे बितण्डाका कारण साे पम्प सञ्चालकका सदस्य तथा कर्मचारी गरी चार जना अझै बेपत्ता हुँदा तथा ठूलाे क्षती भएकाे अवस्थामा पनि जिल्लालाइ कालिकास्थानबाट पेट्राेलियम पदार्थकाे सेवा पुर्याएकाे छ ।
पम्पका सञ्चालक उद्धवप्रसाद रिजालका अनुसार विभिन्न सवारी तथा कम्पनीबाट करिब ३ करोड रुपैयाँ उधारो उठ्न बाँकी रहेकाे छ । छ। ९ रोपनी जग्गा, भौतिक सम्पत्ति तथा वित्तीय दायित्व समेत जोड्दा करिब १८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षती भएको छ ।
रिजाल समेत सिताराम पौडेल, शंकर न्यौपाने र बलराम ढकालको समूहले रसुवाको कालिकास्थानमा सञ्चालित ‘गन्तव्य पेट्रोल पम्प’मार्फत इन्धन आपूर्ति भने रोकेको छैन।
कालिकास्थानमा सञ्चालन गर्दै आएको ‘गन्तव्य पेट्रोल पम्प’ अहिले रसुवाका लागि इन्धन आपूर्तिको महत्वपूर्ण आधार हाे । भौगोलिक विकटता, सडकको असहज अवस्था र बाढी पछिकाे उत्पन्न कठिन परिस्थितिका बीच पनि उनीहरूले इन्धन ढुवानीलाई निरन्तरता दिइरहेका छन्। आवश्यक पर्दा ड्रममा समेत तेल बोकेर विभिन्न स्थानसम्म पुर्याउँदै रसुवामा इन्धन अभाव हुन नदिन उनीहरू सक्रिय छन्।
भौगोलिक कठिनाइका बावजुत ड्रममा समेत इन्धन सेवा दिन ढुवानी गर्दै आएको समूहले इन्धन बोकेको ट्र्याक्टर दुर्घटनामा परेर करिब ४ लाख रुपैयाँ बराबरको तेल खोलामा बगेपछि थप क्षति व्यहोरेको छ।
लगातारको संकटका बाबजुद नागरिकलाई इन्धन अभाव हुन नदिई सेवा जारी राखेको भन्दै स्थानीयवासीले सञ्चालक समूहको सेवा प्रयासको प्रशंसनीय रहेकाे बताएका छन् ।
बाढीका कारण दलित समुदायका ६२ जना बेपत्ता
रसुवा, नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटकासीमा आएको बाढीका कारण ५ गाउँपालिका रहेको रसुवामा दलित समुदायका ६२ जना बढि बेपत्ता भएका छन् ।
स्थानीय तहले संकलन गरेको प्रारम्भीक तथ्यांकका आधारमा नौकुण्डमा ३, कालिका १०, आमाछोदिङमो ९, गोसाइँकुण्ड २२ र उत्तरगया गाउँपालिका क्षेत्रका १६ जना गरी ६२ जना बेपत्ता रहेका छन् ।
बेपत्ता भएका युवाहरु धेरै रहेका छन् । तगत संकलन भइरहेको हुनाले अझै संख्या थपिन सक्ने गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।
Thursday, September 24, 2026
महलबाट सून्यमा पुगियाे भन्छन् प्याकुरेल
रसुवा , उत्तरगया गाउँपािलका -५ का हरि प्याकुरेल भन्छन् बाढीले जिराे नै बनायाे । हुन पनि धेरैलाइ भदाै १० गते नदिकाे बाढीले सून्यमा नै झारेकाे छ ।
प्याकुरेल ९ गतेसम्म गाउँपालिकालाइ घर भाडामा दिने घरबेटी बा थिए । अहिले अरूकाे घरमा काेठा खाेजेर बस्नु पर्ने बनायाे । दु:ख गरेर सबै व्यवस्थापन गरेका उनकाे १० आना क्षेत्रफलमा बनेको ३० कोठाको घर थियो, २५ कोठा गाउँपालिकालाइ भाडामा लगाएका थियौँ । घरसँगै ५ रोपनी जमिन पनि थियो। बाढीले जिरो नै बनाएर लिएर गयो। अब हामी त सुकुमवासी नै भयौँ । उनी जस्तै धेरैले यस्ताे अवस्था भाेग्नु परेकाे छ ।
उत्तरगयामा बाढी प्रभावितलाई एलपी ग्यास र चुलो वितरण
रसुवा, भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको दैनिकी सहज बनाउन एसोसिएसन फर इन्टरनेशनल सोलिडारिटी इन एशिया (ASIA) ले उत्तरगया गाउँपालिकासँगको समन्वयमा १५० सेट एलपी ग्यास सिलिन्डर, ग्यास चुलो तथा आवश्यक सामग्री वितरण गरेको छ।
विपद्पछिको कठिन परिस्थितिमा रहेका प्रभावित परिवारहरूलाई सुरक्षित रूपमा खाना पकाउने सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। लाभग्राहीहरूको छनोट तथा वितरण कार्य उत्तरगया गाउँपालिकासँगको समन्वयमा सम्पन्न गरिएको थियो । जसले वास्तविक प्रभावित परिवारसम्म सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
भोटेकोशी बाढीको प्रारम्भिक चरणदेखि एसिया अनलुसले राहत तथा पुनःस्थापनाका विभिन्न गतिविधिहरूमार्फत प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ। राहत वितरणसँगै संस्थाले शिक्षा क्षेत्रको पुनःस्थापनाका लागि पनि पहल गरिरहेको छ । उत्तरगया–५ स्थित शिवालय आधारभूत विद्यालयमा ४ वटा कक्षाकोठा तथा डाडाँगाउँ माध्यमिक विद्यालयमा करिब ५० विद्यार्थी अट्ने छात्रावास भवन निर्माणको तयारी भइरहेको छ।
विपद्बाट प्रभावित समुदायको शीघ्र पुनःस्थापना तथा जीवनयापनलाई सहज बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायसँग सहकार्य गर्दै आगामी दिनहरूमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकाे एसिया अनलुसका युवराज न्याैपानेले बताए ।
विपत पछिकाेअभावमा ग्यास र चुलाे राहत प्रदान गरेकाेमा गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले धन्यवाद दिइन् ।
Monday, September 21, 2026
बेत्रावतीमा अस्थायी फट्के निर्माणः पैदल यात्रुलाई आवतजावतमा राहत
रसुवा, लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले क्षति पुर्याएको फलाखु खोलामा अस्थायी फट्के (काठको पुल) पुन निर्माण गरिएको छ । यसअघिको काठको पुल बगाएपछि स्थानीयले पुनः काठको पुल बनाएका हुन् ।
रसुवा र नुवाकोटको सिमाना भएर बग्ने उक्त खोलामा काठको पुल निर्माण भएसँगै पैदल यात्रुहरूका लागि आवतजावत सहज भएको छ । धेरै यात्री एकै पटक हिड्न जाेखिम हुन सक्ने भएकाेले पालाे गरेर वारपार गरिरहेका छन् ।
बाढीले पक्की पुल र सडक खण्डमा गम्भीर क्षति पुर्याएपछि रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिका जोड्ने मुख्य पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडक सञ्जाल विच्छेद हुँदा स्थानीयवासीले ठूलो सास्ती व्यहोर्दै आएका थिए।
सर्वसाधारणको दैनिकी र आउजाउलाई सहज बनाउन सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त श्रमदानमार्फत उक्त अस्थायी काठे पुल तयार पारिएको हो।
बेत्रावतीमा फट्के बनेसँगै दुई जिल्ला जोड्ने पैदल मार्ग पुनः सञ्चालनमा आएको छ, जसले स्थानीयवासीलाई ठूलो राहत मिलेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा २५ विद्यार्थी र ६ शिक्षकरशिक्षिका बेपत्ता
रसुवा, लेन्देखोला हुँदै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्णरूपमा ध्वस्त भएको छ। बाढीमा परी उक्त विद्यालयका २५ विद्यार्थी र ६ जना शिक्षक तथा शिक्षिका बेपत्ता भएका छन्।
विद्यालयमा ३५ विद्यार्थी अध्ययनरत थिए। बाढीपछि १० विद्यार्थी मात्र सम्पर्कमा आएका छन्। बेपत्ता विद्यार्थीमध्ये सबैभन्दा धेरै शिशु कक्षाका १० जना रहेका छन्। ज्यान जोगाएका विद्यार्थीहरू आफ्ना अभिभावकसँगै काठमाडौंस्थित होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार बाढीले विद्यालयको भवनसहित टिमुरे गाउँ र बजार क्षेत्र नै तहसनहस बनाएको छ। चीन सरकारको सहयोगमा निर्माण गरिएको २८ कोठे सुविधासम्पन्न नयाँ विद्यालय भवनसमेत बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएपछि विद्यालय सञ्चालन गर्न कठिन भएको छ।
बाढीमा विद्यालयका शिक्षक रामचन्द्र बिक, सन्तोष श्रेष्ठ र हिमानसिं तामाङ तथा शिक्षिका कविता न्यौपाने, कान्छी घले र सोनाम बुरी तामाङ बेपत्ता भएका छन्। “धेरै आफन्त गुमेका छन्। बाँचेकाहरू एक–दुई सेकेन्डले जोगिएका छन्,” प्रधानाध्यापक घलेले भन्नुहुन्छ, “मानिसहरू आफ्नो ठाउँमा फर्कन चाहन्छन्, तर त्यसका लागि सरकारले सुरक्षित वातावरण बनाउनुपर्छ।”
टिमुरेमा विद्यालय मात्र होइन, वडा कार्यालयलगायतका सार्वजनिक तथा निजी संरचनासमेत बाढीले बगाएको छ। सडक र पुलमा क्षति पुगेपछि आवतजावतसमेत प्रभावित भएको छ। २०७८ सालको जनगणनाअनुसार टिमुरेमा १ सय ६३ घरधुरीमा ५ सय ५० जनसंख्या थियो।
प्रधानाध्यापक घलेका अनुसार टिमुरे गाउँका ७७ महिला र ६८ पुरुष गरी १ सय ४५ जना तथा विभिन्न समयमा बसाइँसराइ गरी आएका थप ५८ जनासहित २ सय ३ जना बेपत्ता छन्। यसमा अन्य कामदार तथा बाहिरबाट आएका यात्रुहरूको विवरण समावेश छैन।
जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालका अनुसार बाढीबाट प्रभावित जिल्लाका अन्य विद्यालयमा पठनपाठन सुरु भए पनि नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेमा तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन। विद्यालयको भवन, कक्षाकोठा र अन्य संरचना पूर्णरूपमा क्षतिग्रस्त भएकाले विद्यार्थीलाई सुरक्षित वातावरणमा पठनपाठन गराउन चुनौती भएको छ।
प्रारम्भिक तथ्यांकअनुसार जिल्लाभर २ सय ८५ विद्यार्थी बेपत्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी रहेको बताइएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा शिक्षक, सरकारी कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयसमेत बेपत्ता भएका छन्।










