
रसुवा, गाउँ जाने सडकमा पुल अभाव भएपछि गाेसाइकुण्ड र गाउँपालिका जाेड्ने आमाछोदिङमो स्याफ्रुवेंसीमा फड्के पुल पुनर्निर्माण कार्यमा स्थानीयले खटेका छन् ।
लेन्दे खोलाहुँदै भोटेकोशीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित, स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।
पुल अभावले बाढीका कारण आवतजावत ठप्प हुँदा गोसाइँकुण्ड गाउँपालिका वडा नं १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका वडा नं १ देखि ५ का स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन् ।
लामो समय बितिसक्दा पनि स्याफ्रुबेँसीमा तत्काल स्थायी पुल बन्ने निश्चित नभएपछि आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासीले श्रमदानमार्फत अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । असोजमा तयार भएकाे काठे पुल पुन बगाएपछि जनसहभागितामा काठको पुल निर्माण कार्यलाई निरन्तर अघि बढाइएको छ ।
सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्याउन पाएका छैनन् । गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका वडा नं २, ३, ४ र ५ बाट करिब ३ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको थियो । त्यस्तै, यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपैयाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो ।
तर, बाढी आएको २ महिना बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको छ । गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका छन् ।
No comments:
Post a Comment