ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, September 28, 2026

बाढीका कारण चार विद्यालयका शिक्षक तथा कर्मचारी, १ सय ३६ जना विद्यार्थी बेपत्ता


 


रसुवा, लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा शिक्षक, विद्यार्थी र अभिभावक प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका चार विद्यालयका शिक्षक तथा कर्मचारी गरी १६ जना बेपत्ता छन् भने उत्तरगया गाउँपालिकाका १ सय ३६ जना विद्यार्थीसमेत बेपत्ता भएका छन्।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना  विद्यार्थी बेपत्ता छन्।


गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माविका नौ जना विद्यार्थी बेपत्ता भएका हुन्। बाढीकै कारण २ सय १ जना अभिभावक बाढीमा बेपत्ता भएका छन् । मोडर्न ट्रिनिटीका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिकासमेत बाढीमा बेपत्ता भएको प्याब्सनले जनाएको छ।


बाढीबाट अभिभावक बेपत्ता भएपछि धेरै बालबालिकाको पठनपाठन प्रभावित भएको छ। बाढीबाट विद्यालयका भवन तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। यद्यपि, जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँचवटा पुनः सञ्चालनमा आइसकेका छन्।


उत्तरगया गाउँपालिकाले बाढीबाट प्रभावित विद्यालयलाई नजिकका विद्यालयमा गाभेर भदौ २४ गतेदेखि पठनपाठन सुरु गरेको छ। अभिभावक फर्किन थालेसँगै विद्यार्थी पनि विद्यालय आउन थालेको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले बताए । 


प्याब्सनले अभिभावकविहीन तथा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन छात्रावासमा खानपान र आवश्यक सामग्रीको व्यवस्था गरेको जनाएको छ। केन्द्रीय प्याब्सनको समन्वयमा प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने प्रयास भइरहेको प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाले बताउनुभयो।

No comments:

Post a Comment