ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, June 18, 2026

कफी उत्पादनको ‘पकेट क्षेत्र’ बनाउने अभियामा आचार्य

 


रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेका स्थानीय युवा समाजसेवी नवराज आचार्यले गाउँलाई कफी को ‘पकेट क्षेत्र’ बनाउने अभियानलाई तीव्रता दिएका छन् ।

व्यक्तिगत पहल र लगानीमा कफीको नर्सरी स्थापना गरेका आचार्यले कृषकहरूलाई नि:शुल्क बिरुवा वितरण गर्दै व्यावसायिक कफी खेतीतर्फ आकर्षित गरिरहेका छन् ।

कालिका गाउँपालिका–३ लाई कफी उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य सहित सुरु गरिएको अभियान अन्तर्गत आचार्यले गत वर्ष एक विदेशी संस्थाको सहयोगमा नर्सरी स्थापना गरेका थिए । सोही नर्सरीबाट यस वर्षदेखि व्यावसायिक रूपमा बिरुवा उत्पादन सुरु भएको हो ।

आचार्यले आफ्नै खर्चमा उत्पादन गरेका कफीका बिरुवा कृषकहरूलाई निस्शुल्क वितरण गरिरहेका छन् । यस वर्ष मात्रै बेतीनी, कटुन्जे र धारापानीलगायतका गाउँमा ५ वटा कफीका हजार बिरुवा वितरण गरिसकेको उनले बताए । नर्सरीमा हाल थप ८ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा रहेका छन् । गत वर्ष पनि उनले १० हजार बिरुवा नि:शुल्क वितरण गरेका थिए।


कफीका बिरुवा वितरणसँगै कृषकहरूलाई कफी खेती सम्बन्धी तालिम तथा उत्कृष्ट कृषकहरूका लागि गत वर्ष अवलोकन भ्रमणको व्यवस्था समेत गरिएको आचार्यले जानकारी दिए ।

कृषकहरूलाई कफी खेतीमा आकर्षित गर्न उनले उत्पादित कफीको बजारीकरणको जिम्मेवारीसमेत लिने प्रतिबद्धता जनाएका छन्। “कृषकहरूले बजार नपाइएला कि भनेर चिन्ता गर्नु पर्दैन, गाउँमा उत्पादन भएको सबै कफीको बजार व्यवस्थापनमा म स्वयं लाग्नेछु,” आचार्यले भने। कफी खेती अभियानलाई दिगो र प्रभावकारी बनाउन कालिका गाउँपालिकाको प्राविधिक तथा संस्थागत सहयोग आवश्यक रहेको उनको भनाइ छ ।


नि:शुल्क बिरुवा, प्राविधिक ज्ञान र बजारको सुनिश्चितताले स्थानीय कृषकहरू कफी खेतीतर्फ उत्साहित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट व्यावसायिक नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा कालिका क्षेत्र भविष्यमा रसुवाकै प्रमुख कफी उत्पादन केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ।

स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा कृषि उद्यमशीलताको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको यस अभियानलाई कृषकहरूले सकारात्मक रूपमा लिएका छन्। एउटै व्यक्तिको अग्रसरताले गाउँको कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको स्थानीयवासीहरू बताउँछन्।



No comments:

Post a Comment