ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, September 11, 2026

हैजा विरुद्धको खोप अभियान सुरू



रसुवा, बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । 

नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार  गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्।

 

खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन। उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य  कार्यालय रसुवाले जनाएको छ ।


यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ’टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ ।


दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

Thursday, September 10, 2026

बाढीमा हराएकाहरुको खोजी तथा उद्दार जारी


रसुवा । भदौ १० गते आएको बाढीका कारण बेपत्ताहरुको खोजी जारी रहेको छ । २ साता बित्दा समेत झण्डै ४ हजार मानिस हराइरहेकोले खोजी भइरहेको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुासर १६१६ जनाको उद्धार भएको छ भने ३९१५ जना बेपत्ता छन् । हालसम्म १० जनाको सनाखत भएको छ भने १८५ जनाको मात्र शव भेटिएको छ । 

चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारको प्रयास भइरहेको छ । 

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाउने कार्य तीव्र रूपमा भइरहेको छ । उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ । सुरूङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ । त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमान रहेको घिसिङले बताउनुभयो ।  

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटेका छन् । 

अझै बिभिन्न विद्युत आयोजनाको सुरूङमा फसेकाहरु जिवित उद्धारका लागि सवै क्षेत्रबाट अनुरोध भइरहेको छ । 


उत्तरगया गाउँपालिकाले बाढीबाट घर गुमाएका परिवारहरूलाई मासिक ५ हजार रुपियाँ दिने


रसुवा, भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण घरबार विहीन भएका पीडित परिवारहरूका लागि उत्तरगया गाउँपालिकाले ५ हजार रूपैयाँ नगद दिने भएकाे छ । 

बाढीबाट घर गुमाएका परिवारहरूलाई रसुवा जिल्लाभित्र कोठा भाडामा बस्नका लागि प्रतिपरिवार मासिक ५ हजार रुपियाँ भाडा सहयोग उपलब्ध गराउने र आवश्यक खाद्यान्न समेत प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, गाउँपालिकाले नुवाकोटको बट्टारस्थित होल्डिङ क्याम्पमा आश्रय लिइरहेका बाढी प्रभावितहरूलाई रसुवा फर्काउनका लागि यातायात तथा सम्पूर्ण व्यवस्थापन गाउँपालिका स्वयंले गर्ने निर्णय गरेको छ । 

विपद्का बेला अभिभावक विहीन बनेका बालबालिकाहरूको संरक्षणलाई उच्च प्राथमिकता दिँदै गाउँपालिकाले पालिकाको पूर्वस्वीकृति र अनुमति विना कसैले पनि अन्यत्र नलैजान आग्रह गरेको छ ।

बाढीका कारण उत्तरगयामा ८ सय १८ घर बिस्थापित


रसुवा,  लेन्दे खाेला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढी पश्चात् रसुवा जिल्लामा पुर्‍याएको क्षतिको सम्पूर्ण विवरण हालसम्म एकीन हुन सकेको छैन । 

उत्तरगया गाउँ कार्यपालिकाले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढीका कारण ८ सय १८ घर बिस्थापित भएका छन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्क अनुसार ८ सय ७७ जना सम्पर्कविहीन, मृत्यु भई सनाखत भएका १२ जना, पूर्ण घर क्षति संख्या ६ सय १८, पूर्ण विस्थापित परिवार ६ सय १३ रहेको गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।  

६ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढी प्रभावितको संख्या ४ सय ९२ जना रहेको छ । सडक सञ्जाल नहुँदा समस्यामा परेका १ हजार ९९ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । होल्डिङ सेन्टरमा ४ सय ९२ जनालाई नियमित खाना खाजाको व्यवस्था भएको छ ।

गाँउपालिकाका कर्मचारीहरु मध्ये जनस्वास्थ्य निरिक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही डोल्पा, कार्यालय सहयोगी रेप्पा तामाङ हालसम्म सर्म्पविहीन छन् । गाँउपालिकाका सूचना प्रविधि अधिकृत जनक आचार्यको शवको सनाखत भइसकेको छ । शिक्षक मीननाथ न्यौपाने, रमेश लामिछाने,  संजिव तामाङ, नारायण वहादुर थापा, अजय कुमार यादव सर्म्पविहिन छन् । 

त्यस्तै विद्यालय नर्स ममता श्रेष्ठ वालविकास शिक्षक मनमाया तामाङ,  वालविकास शिक्षक सुकबहादुर तामाङ समेत हालसम्म सर्म्पविहीन हुनुहुन्छ । कार्यपालिकाको खाल्टेमा रहेको भवन, कार्यपालिकाको भाडामा रहेको कैदलेटारको भवन, वडा नं १ स्थित निर्माणाधीन कार्यालय भवन र वडा सम्पर्क कार्यालय, दुई वटा स्वास्थ्य संस्था, दुई वटा विद्यालय, एक पशुसेवा कार्यालय, एक कृषि सेवा कार्यालय , एक संस्थागत विद्यालय , चार  जलविद्युत आयोजना र दुई  बैंकमा  क्षति भएको छ । जिल्लाभर बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी र ५ सय ८९ जना विदेशी पर्यटक सम्पर्कविहीन छन् । 

सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६ सय ४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ३ हजार ६ सय २८ जनाले जिल्ला र बाहिर रहेका विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ ।

बाढीका कारण गाेसाइकुण्डमा ५ सय ७३ जना बेपत्ता



रसुवा, लेन्दे खाेला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढी  कारण गाेसाइकुण्ड गाउँपालिकामा ५ सय ७३ जना बेपत्ता भएका छन् । 

अहिलसम्म शव भेटेर पहिचान भएको दुई जना मात्र छन् । बाढीका कारण गोसाईकुण्ड गाउँपालिका वडा नं २, टिमुरेमा १ सय ६३, वडा नं ५ स्याफ्रुबेसीबाट १ सय २३ घरधुरी बगाएको प्रारम्भीक तथ्याङ्क छ । वडा नं २ र ५ का अधिकांश बिस्थापितहरु (कम्तिमा ५ सय जना) काठमाडौको स्वयम्भु स्थित एलो र मुस्ताङ गुम्बामा रहेकाे गाउँपालिका सूचना अधिकारी अजुन डाेटेलले बताए । 

 गोसाइकुण्ड गाउँपालिकाको वडा नं १ मा १ सय ११, २ मा १ सय ९९, ३ मा १७, ५ मा १ सय ६६, र ६ मा ५२ जना बेपत्ता भएका छन् । कर्मचारी २१, र जनप्रतिनिधि ७ जना गरी ५ सय ७३ जना बेपत्ता छन् । एकीन तथ्याङ्क आउदा यो बढ्ने अनुमान छ ।

शवको खोजी तथा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन भएका छन् । रसुवामा १ सय ६९ जनको शव फेला परेको छ । जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ । क्षती भएका बस्तीहरु धेरै स्थापित बस्तीहरु खण्डहरमा परिणत भएको छ । 

घट्टेखोला, टिमुरे बजार, दाहालफेदी, स्याफ्रुबेसी बजार, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेसी, खाल्टे बस्ती, कैदलेटार, बेत्रावती बजार रसुवा नुवाकोट सिमानाको तुप्चे र सोलेबजार तथा त्रिशुली बजारका बस्ती तथा पुलहरु, स्वास्थ्यचौकी, विद्यालय, उत्तरगया गाउँपालिका भवन तथा गोसाइँकुण्ड गाउँपालिका वडा नं २ र ५ को भवन र गोसाइँकुण्ड गाउँपालिको भवन बाढीले बगाएको छ ।

छा-याँ नेपाल राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई किचेन सेट

 


छा-याँ नेपालले वडा कार्यालयको समन्वयमा कालिका गाउँपालिका –१ राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई ०८३ भदौ २४ गते भान्साका भाँडाकुडा (किचेन सेट) तथा राहत सामग्री वितरण गरेको छ । 

अति आवश्यक सामग्री वितरण गरेकोमा वडा अध्यक्ष दावा तामाङले मानवीय धर्म पूरा गरेको भन्दै संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । 

छा-याँ नेपालका सन्ताेष सिलवालले वडा अध्यक्षकाे राेहवरमा बाढी प्रभावितहरूलाइ राम्चेमा सामग्री हस्तान्तरण गरेका हुन् । 

जनप्रतिनिधि तथा स्याप्रफुका धेरै जना सम्पर्क विहीन



रसुवा, स्याफ्रुबेँसीका स्थानीय समेत रहेका गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ लामा र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार वाइबा सहित धेरै स्थानीय बासिन्दा सम्पर्कविहीन रहेका छन् ।  

स्थानीय दावापेम्बा तामाङले भने ‘गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेँसीस्थित पालिकाको कार्यालय रहेको आसपासका ६० प्रतिशत बस्ती बाढीले बगाएको छ। गाउँपालिकाको भवनसहित ६० प्रतिशत भाग बाढीले बगाइसकेको छ,’ उनले भने, ‘गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार लामा दुवै जना अहिले सम्पर्कविहीन छन् । दुवै जनाको फोन लागिरहेको छैन, स्थानीय त कति हो कति सम्पर्कमा छैनन् । ’

बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पनि ठूलो क्षति पु¥याएको छ। तामाङका अनुसार टिमुरे क्षेत्र बाढीले पूर्ण रूपमा बगरमा परिणत भएको छ। ‘वडा नम्बर २ टिमुरेलाई बाढीले पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ। त्यहाँ अब मानव बस्ती नै नरहने अवस्था बनेको छ,’ उनले भने।

टिमुरेमै पर्ने रसुवागढी क्षेत्र, सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए। उनले भने, ‘२ नम्बर वडामै पर्ने रसुवागढी क्षेत्र, त्यहाँको सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनाहरू सबै ध्वस्त भएका छन्।’