ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 19, 2026

एकपाखेका बिस्थापित १० परिवार टेन्टमा


नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे क्षेत्रमा जमिन भासिएर बस्ती जोखिममा परेपछि बिस्थापित १० परिवारलाइ नजिकैको कप्थलीटारमा टेन्टमा सारिएको छ । 

पहिरोले जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिका र वडा कार्यालयको विशेष पहल तथा समन्वयमा उद्धार र स्थानान्तरणको कार्य सम्पन्न गरिएको छ । विपद्को समयमा समयमै ध्यान दिई स्थानीयको सुरक्षालाई प्राथमिकता दिएर स्थानान्तरण गरिएपछि प्रभावित परिवारहरूले राहत महसुस गरेका छन् । 

स्थानीय सरकारले विपद्को घडीमा जोखिममा रहेको बस्ती स्थानान्तरण गरेको स्थानीय दावा लामाले बताए । उनिहरु अहिले टेन्टमा बसेका छन् । नौकुण्ड गाउँपालिका–६ का अध्यक्ष योनुर्बु तामाङलगायत नौकुण्ड गाउँपालिकाको टोलीलाई सुरक्षित स्थानमा बस्ती सार्न जुटेका थिए । 

प्रभावित क्षेत्रका बासिन्दाहरूले आगामी दिनमा पनि विस्थापित परिवारहरूको दीर्घकालीन व्यवस्थापन, पुनर्वास र आवश्यक राहत सहयोगका लागि निरन्तर पहल र सहयोगको अपेक्षा राखेका छन् । 




पहिराेले रसुवाका १७ बस्ती जोखिममा



रसुवा, पाँच गाउँपालिकामा १७ बस्ती पहिरो र प्राकृतिक विपत्को जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिको सम्पन्न बैठकले यस्ता बस्तीको संरक्षणका लागि पूर्वाधार विकास मन्त्रालय (सिंहदरबार र हेटौँडा)सँग बजेट माग गरेकोे छ । 

समितिका अध्यक्ष एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार जिल्लाका जोखिमका बस्तीमा क्षति कम गर्न ती क्षेत्र खाली गरी लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरेर तत्कालका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ । 

पटकपटक आएको बाढीका कारण गल्छीत्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गतको त्रिशूली–मैलुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको उत्तरगया–५, नौबिसे पेट्रोल पम्पनजिक सडक कटान भएका कारण स्थानीय बस्ती, जलविद्युत् आयोजना र गाउँपालिकाको प्रशासनिक कार्यालयसमेत उच्च जोखिममा परेका छन् । 

जोखिमका बस्तीको संरक्षणका लागि पहल गरिने भएको छ । जोखिममा परेका बस्तीहरूमा आमाछोदिङ्मोको फूलबारी बस्ती र पाजुङ घरबस्ती, उत्तरगयाको बलेखर्क बस्ती, बनुवा घुम्ती बस्ती र चिप्लेटी बस्ती, कालिकाको चित्रेपानी बस्ती, गोम्बा डाँडा घरबस्ती, बाँस्तोला घरबस्ती, पाख्रिन टोल, डिखेत घरबस्ती, रूपसेपानी र ग्राङ क्षेत्र रहेका छन् । 

त्यसैगरी, गोसाइँकुण्ड दाहाल फेदी (साबिक थुमन– ८), बाङदी (साबिक स्याफ्रुबेँसी– १) र स्याफ्रुबेँसी बजार क्षेत्रलगायत नौकुण्डको थाङ्दोर पुच्छार, युब्रा बस्ती र एकपाखे बस्ती रहेको छ । यसका साथै, पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया– ५, बनुवाघुम्ती क्षेत्रमा सडक डिभिजन नुवाकोटले निर्माण गरेको ग्याबिन पर्खाल वर्षाका कारण भत्किएकाले त्यसको दीर्घकालीन रोकथामका लागि विस्तृत अध्ययन गर्न समितिको बैठक निर्णय समेत गरको छ । 


लाङटाङ जिच कारखाना बन्दहुने अवस्थामा


 

रसुवा, नेपालकै जेठो र ऐतिहासिक पहिचान बोकेको रसुवाको चिज उद्योग दूध उत्पादन घटेपछि संकटमा परेको छ। सात दशकअघि स्थापना भएको रसुवाको चिज उत्पादन क्षेत्रमा पछिल्लो समय अनेकौं चुनौतीहरू थपिँदै छन्। 

दुग्ध विकास संस्थानअन्तर्गत रसुवाका पाँच उच्च हिमाली क्षेत्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गत्लाङमा यस वर्ष पनि वैशाखदेखि कात्तिक मसान्तसम्मका लागि चिज उत्पादन सुरु भइसकेको छ। 

पौष्टिक तथा औषधियुक्त घाँस पलाउने मौसम सुरु भएसँगै यी केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। हालसम्म पाँचवटै केन्द्रबाट १६ सय केजीभन्दा बढी चिज र एक हजार केजी मक्खन उत्पादन भइसकेको छ। उत्पादित चिज काठमाडौंस्थित लैनचौर केन्द्रीय भण्डारमा पठाउने तयारी भइरहेको छ। संस्थानले चिजको मूल्य प्रतिकेजी १ हजार ९ सय र बटर ९मक्खन० प्रतिकेजी १ हजार १ सय ५० निर्धारण गरेको छ। तर नेपालकै जेठो मानिने लाङटाङ चिज उत्पादन केन्द्र भने यस वर्ष विविध कारणले ढिलो गरी एक साताअघि मात्र सञ्चालनमा आएको छ। 

स्विस सरकारको सहयोगमा २००९ सालमा नेपालमै पहिलोपटक रसुवामा चिज उद्योगको स्थापना भएको थियो। २०१० सालमा क्यान्जिङ विमानस्थलमा चिज बोक्नका लागि हवाईजहाजसमेत आएको स्थानीय कर्म लामाले बताए। त्यसपछि स्थानीय बासिन्दाले चौंरीपालनलाई व्यावसायिक रूपमा अँगाल्दै आएका थिए। पछिल्ला वर्षहरूमा पर्यटन व्यवसायको विस्तारसँगै चौंरीपालक किसानहरू होटल तथा लज सञ्चालनतर्फ आकर्षित भएपछि चौंरीपालक कृषक अभावले चिज उद्योगहरूमा दूधको अभाव हुन थालेको हो। 


दिनहुँ युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौंरीपालक किसानहरूको उमेर ढल्किँदै जानु, दूधको उत्पादन निरन्तर घट्दै जानुले केन्द्र सञ्चालन गर्न निकै मुस्किल परेको चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख सुभाष राई बताउँछन्। चन्दनबारी तथा अन्य चिज केन्द्रहरू सीमित दूध संकलनकै भरमा सञ्चालन भइरहेका छन्। अर्कोतर्फ, दूध विकास संस्थानले पहिले किसानहरूलाई उपलब्ध गराउँदै आएको छाता, बाल्टिन र गमबुटजस्ता किसानलाई प्रेरित गर्ने सामग्रीमा कटौती गरेकोले पनि असर परेको किसानहरू बताउँछन्।


विनाशकारी भूकम्पका कारण यहाँ ६ सयभन्दा बढी चौंरी मरेपछि यहाँ चौंरीपालक कृषकहरू घटेका थिए। ‘विस्तारै बर्सेनि चौंरी पाल्ने घट्दै गएको घाँसका अभाव हुँदै गएकोले स्थानीय कृषक चौंरीपालन छाडेर होटल व्यवसायतर्फ लाग्न थालेका छन्। खर्क टाढा छ खर्कमा घाँस पनि अभाव हुने वर्षात्मा खर्कबाट दूध तार्न सकस हुन्छ,’ कृषक लाक्पा लामा बताउँछन्।


यहाँ उत्पादन हुने चिज र बटरलाई बजार अभाव हुने थिएन। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले मन पराउने हुनाले स्थानीय बजारमै सबै खपत हुन्थ्यो अब बन्द हुने अवस्थामा पुग्यो लामाले भने। 

चौंरीपालक किसानलाई राज्यले उचित राहत र प्रोत्साहन नदिए विश्वमै प्रसिद्ध लाङटाङ चिज इतिहासमा मात्र सीमित हुने जोखिम बढेको छ। लाङटाङमा बर्सेनि दूध उत्पादन घटेको छ। अहिले चौंरीपालक किसान दुई जना मात्र रहेका छन्। गत वर्ष पाँच जना थिए। यो क्रम अहिले घट्दो छ। स्थानीय चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले भने— ‘भूकम्पअघि यहाँ ३३ जना किसानले झन्डै ३ सय ५० जति चौंरी पालेका थिए।’ लाङटाङमा दूध उत्पादन घटेपछि लामालाई अहिले दुग्ध विकास संस्थानले धुन्चेस्थित पाङले खर्क चिज उत्पादन केन्द्रमा पठाएको छ।

एकपाखे बस्तीका पहिराे पीडित १० परिवार सुरक्षित स्थानमा सारियाे


रसुवामा पहिरोको जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० परिवारका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको हो।

बस्ती तलको जमिन चर्किएर भाँसिन सक्ने र पहिरोले घरमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

स्थानान्तरण गरिएका १० परिवारका १७ पुरुष र १४ महिला गरी ३१ जना छन् । अस्थायी बसोबासका लागि १२ वटा टेन्ट निर्माण गरिएको छ । प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको हो।




Wednesday, August 12, 2026

बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासियो

 


रसुवा, उत्तरगया गाउँपािलका -५ बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासिएपछि समस्या भएका छ । 

गतवर्ष लगाइएकाे ग्याबियन भासिएर पुन यसवर्ष लगाइएकाे ग्याबियन पनि भासिएपछि समस्या भएकाे हाे । गत वर्ष र यसवर्ष गरी कराेडाैं रकम खर्च भएपनि बालुवामा पानी जस्तै भएकाे स्थानीयले गुनासाे गरे । 

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु राजमार्गको बनुवा घुम्ती क्षेत्रमा सडकछेउमा निर्माण गरिएको ग्याबियन भासिएको छ। जाली भासिएसँगै उक्त सडकखण्ड अत्यन्तै जोखिमयुक्त बनेको स्थानीय दयाराम आचार्यले बताएका छन्।

यस क्षेत्रमा यात्रा गर्ने सवारीसाधन तथा पैदल यात्रुले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। सडकको तलतिर ठूलो बस्ती रहेकाले ग्याबियन थप भासिएमा सडक संरचनामा क्षति पुग्नुका साथै गम्भीर दुर्घटना हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी आवश्यक मर्मत, संरक्षण तथा जोखिम न्यूनीकरणका कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्।

यसैबीच, उक्त सडकखण्ड प्रयोग गर्ने सबै चालक तथा यात्रुहरूलाई सुरक्षित र सतर्क भएर यात्रा गर्न अनुरोध गरिएको छ। सुरूमा नै ग्यावियन मिलाएर नहालेकाे र तेर्साे गरेर हालेर सिधै माथि उठाएकाे र माथिबाट माटाे भरेपछि लाेड थेग्न नसकेकाे स्थानीयले गुनासाे गरेका छन् ।

डिभिजन सडक कार्यालयले यसकाे बारेमा कुनै प्रतिक्रिया दिएकाे छैन । दाेस्राे पटक पनि नटिक्नुले प्राविधिक फेल भएकाे जनगुनासाे छ । 




टेलिमेडिसिन सेवा विस्तारको लागि ठूलोगाउँ स्वास्थ्यचौकीलाई उपकरण हस्तान्तरण

 

रसुवा, उत्तरगया गाउँपालिकाले ठुलोगाउँ स्वास्थ्यचौकीलाई टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।  

गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।

यस सेवाको सुरुआतसँगै अब स्थानीय नागरिकहरूले आफ्नै गाउँको स्वास्थ्य चौकीबाटै विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श र उपचार सेवा पाउन सक्नेछन् । गुणस्तरीय, सहज र प्रविधिमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको जनाएको छ। 

उत्तरगया गाउँपालिकाद्वारा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

 

रसुवा,  उत्तरगया गाउँपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (मैलुङ) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

प्राकृतिक विपद्का समयमा खोज, उद्धार र राहत कार्यलाई द्रुत र व्यवस्थित बनाउने उद्देश्यले विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। 

विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने र आगामी दिनमा पनि यस्ता पूर्वतयारीलाई निरन्तरता दिइने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।