ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 12, 2026

टेलिमेडिसिन सेवा विस्तारको लागि ठूलोगाउँ स्वास्थ्यचौकीलाई उपकरण हस्तान्तरण

 

रसुवा, उत्तरगया गाउँपालिकाले ठुलोगाउँ स्वास्थ्यचौकीलाई टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।  

गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।

यस सेवाको सुरुआतसँगै अब स्थानीय नागरिकहरूले आफ्नै गाउँको स्वास्थ्य चौकीबाटै विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श र उपचार सेवा पाउन सक्नेछन् । गुणस्तरीय, सहज र प्रविधिमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको जनाएको छ। 

उत्तरगया गाउँपालिकाद्वारा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

 

रसुवा,  उत्तरगया गाउँपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (मैलुङ) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

प्राकृतिक विपद्का समयमा खोज, उद्धार र राहत कार्यलाई द्रुत र व्यवस्थित बनाउने उद्देश्यले विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। 

विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने र आगामी दिनमा पनि यस्ता पूर्वतयारीलाई निरन्तरता दिइने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।

उत्तरगयाधामका १०८ शिवलिङ्गमा पूजा आराधना


साउनको अन्तिम सोमबार उत्तरगयाधाममा रहेकाे १०८ शिवलिङ्गमा भक्तजनले गरे पूजा आराधना गरेका छन् । 

रसुवा, साउन महिनाको अन्तिम सोमबार आज रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पवित्र धार्मिक तीर्थस्थल उत्तरगया धाममा भक्तजनहरूले पूजाआराधना गरेका छन् । 

त्रिशूली, बेत्रगङ्गा र रुद्रगङ्गाको सङ्गमस्थल तथा त्रिवेणीधामका रूपमा परिचित यस स्थानमा पितृमोक्षका लागि स्नान, तर्पण र श्राद्ध गर्ने ठूलो धार्मिक महत्व रहको छ।

धाम क्षेत्रमा नवनिर्मित १०८ वटा शिवलिङ्गमा आज बिहानैदेखि श्रद्धालुहरूले विशेष पूजा आराधना तथा जलारोहण गरेका छन्।

पौराणिक तथा धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिने यस पावन भूमिमा १०८ शिवलिङ्ग स्थापना गरिएसँगै तीर्थालु तथा दर्शनार्थीहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । साउनको अन्तिम सोमबार भएकाले देवका पनि देवता महादेवुको पूजा गरी मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ रसुवाका स्थानीयसहित वरपरका जिल्लाहरूबाट भक्तजनहरू उत्तरगया धाम पुगेका थिए ।  

धाम परिसरमा शिवलिङ्ग थपिएपछि यस क्षेत्रको धार्मिक पर्यटकीय महत्त्व अझ बढेको छ भने दर्शनार्थीहरूलाई पूजाआराधना गर्न थप सहज र उत्साहप्रद बनेको छ। 

पूर्वाधार विकास, उपलब्धि, अभ्यास, चुनौती बारे छलफल

 

रसुवा, जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

जिल्ला विपत व्यवस्थापन सिमितकाे बैठक पछि रेडियो लाङटाङ ९०.३ मेगाहर्जको आयोजनामा जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा भइरहेको भौतिक र सामाजिक पूर्वाधार विकासको समीक्षा गर्दै भावी रणनीतिका बारेमा साझा धारणा बनाउनु रहेको आयोजकले बताएकाे छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

साे अवसरमा ५ वटै गाउँपालिकाबाट प्राविधिकहरू, डिभिजन सडक कार्यालय नुवाकोटका कार्यालय प्रमुख ईन्जिनियर बद्रीप्रसाद शर्मा ,गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना नुवाकोटका आयोजना प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले प्रस्तुती गरेका थिए ।



केरुङमा करोडौँको कृषि उपज बिग्रिँदै


रसुवा, सामान ढुवानीको लागि केरुङमा नेपाली गाडीको अभाव भएको छ । 

गाडी अभाव हुँदा  केरुङ पाङसिङ क्षेत्रमा नेपाल ल्याउनका तयारी अवस्थामा रहेको अदुवा, लसुन, स्याउ, ड्रागन फ्रुट र सुन्तला लगायतका कृषि तथा फलफूलजन्य सामानहरू रोकिएका छन् । 

गाडीको अभावमा लामो समयदेखि सामान अलपत्र परेको केरूङबाट पुरूषोत्तम पौडेलले बताए ।  पर्याप्त ढुवानी साधन नहुँदा ठूलो परिमाणमा कृषि उपज नासिने अवस्थामा पुगेको पौडेलले भने ।

नेपाली गाडीको सहज व्यवस्था हुन नसक्दा विशेष गरी छिट्टै बिग्रिने तरकारी तथा फलफूल व्यापारमा जोडिएका व्यवसायीहरू ठूलो आर्थिक क्षति व्यहोर्न अबस्थामा पुगेका  छन् । 

सम्बन्धित निकायले तत्काल नेपाली गाडीको व्यवस्था गरी रोकिएका सामान नेपाल भित्र्याउने वातावरण नबनाए व्यापारीको भारी लगानी डुब्नुका साथै नेपाली बजार र उपभोक्तासमेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

तस्वीर र समाचार : पुरूषोत्तम पौडेल

भालुको खुट्टा जस्तो देखिने (आखेटोपहार) सहित दुई जना पक्राउ



रसुवा, गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेमा भालुको जस्तो देखिने दुई वटा खुट्टा (आखेटोपहार) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नावय उपरीक्षक अशोक थापाका अनुसार गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङल्हामु राजमार्ग सडकखण्डमा वन्यजन्तुको अवैध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चालक आमाछोदिङ्मो–५ का २९ वर्षिय गोम्बो तामाङ र आमाछोदिङ्मो–३ का २४ वर्षिय तोप्देन तामाङ रहेका छन् । 

गत्लाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र.३.०१ ००५ ख ९७८३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा गाडीको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर लुकाइराखिएको अवस्थामा उक्त वन्यजन्तुको खुट्टा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको दुई वटा खुट्टा र टिपरसहित दुवै जनालाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको जनाएको छ ।


Tuesday, August 11, 2026

विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्ने क्रममा घाइते युवाकाे निधन


रसुवा, रसुवाको आमाछोदिङमो गाउँपालिका–३ मानचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा म्याद सकिएका विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्ने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका सोनाम घलेको निधन भएको  छ।

सुरक्षा निकायका अनुसार बर्निङ तथा डिमोलिसन विधिबाट विष्फोटक पदार्थ नष्ट गर्ने क्रममा एक्कासि भएको विष्फोटमा परी गम्भीर घाइते भएका लाङटाङ भोटेकोसी जलविद्युत आयोजनामा कार्यरत आमाछोदिङमो–४ गोल्जुङ निवासी २७ वर्षे घलेको मृत्यु भएको हाे ।  

उनको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारको पछि थप उपचारका लागि काठमाडौं पठाउने तयारीको क्रममा उनको मृत्यु भएको थियो। सेनाले विष्फाेट हुनु नपर्ने विस्फाेट भएकाे जनायाे । 

उक्त घटनामा दुई सैनिकसहित अन्य ६ जना घाइते भएका छन्। बाकी घाइते मध्ये ३ जनाको रसुवा जिल्ला अस्पतालमा उपचार गरी थप उपचारका लागि रिफर गरी त्रिशूली अस्पतालमा उपचार  भइरहेको छ भने ३ जनालाइ थप उपचारको लागि हेलिकप्टरबाट सैनिक अस्पताल काठमाडौ लगिएको छ ।  

घटनाको पूर्ण विवरण र विष्फोटको वास्तविक कारणबारे जिल्ला प्रशासन कार्यालय रसुवाले थप अनुसन्धानका लागि टाेली खटाएकाे छ ।