ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, October 19, 2026

कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव



रसुवा, चीनले तिब्बतको झोङ्बा काउन्टी जोड्ने मुस्ताङको ल्होमान्थाङ गाउँपालिका– ४ मा अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमानाका बनाउने प्रस्ताव गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर उक्त प्रस्ताव गरेको छ । यो नाका समुद्री सतहबाट चार हजार ६ सय मिटर उचाइमा छ ।

१० भदौमा भोटेकोशीको प्रलयकारी बाढीले रसुवागढी केरुङ सीमाका सबै पूर्वाधार बगाएपछि कोरोला नाकाबाट सामान ढुवानी हुँदै आएको छ । अघिल्लो साताको बाढीका कारण म्याग्दीमा बाटो र पुल बिग्रेका कारण उक्त नाकाको नेपालतर्फ अवरोध छ । उक्त अवरोध खुलाउने तयारी भइरहेका वेला चीन सरकारले एक वर्षका लागि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव गरेको हो । 

नेपालतर्फ सीमावर्ती पूर्वाधार निर्माणमा पनि नेपालले चाहेअनुसार सहयोग गर्ने चिनियाँ प्रस्ताव छ । नेपालतर्फ भन्सारलगायतका व्यवस्थित पूर्वाधार तथा बत्ती र पानीको सहज सुविधा छैन । चीनले अध्यागमन, भन्सारलगायत सीमा पूर्वाधार तयार गरिसकेको छ ।

ल्हासास्थित चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चीन पक्षबाट कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमानाकाका रूपमा प्रस्तावित गरिएको जानकारी दिए । नेपाल र तिब्बत (चीन)बिच हाल तीनवटा अन्तर्राष्ट्रिय नाका छन् भने करिब १४ जति परम्परागत नाका छन् । तत्काल एक वर्षका लागि अन्तर्राष्ट्रिय नाकाका रूपमा कोरोलालाई मान्यता दिने चीनको प्रस्ताव छ । यसलाई नेपाली अधिकारीहरूले स्वागत गरेका छन् । 

‘कोरोला नाकालाई व्यवस्थित गरेर सञ्चालन गरौँ र अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गरौँ भन्ने हाम्रो पहिलेदेखिकै भनाइ हो, अहिले चीनले प्रस्ताव गरेको छ । यसलाई हामीले स्वीकार नगर्ने प्रश्नै छैन,’ एक उच्च सरकारी अधिकारीले भने । 

हाल सिन्धुपाल्चोकको तातोपानीबाट तिब्बतको जाङ्मु जोड्ने नाका, रसुवाको रसुवागढीबाट तिब्बतको केरुङ जोड्ने नाका र हुम्लाको हिल्साबाट तिब्बतको पुराङ काउन्टी जोड्ने नेपाल–चीन नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा छन् । यी तीन अन्तर्राष्ट्रिय नाका हुन् भने १४ परम्परागत नाका छन् । कोरोला परम्परागत नाकाका रूपमा छ । 

२४ असार ०८२ मा रसुवागढी क्षेत्रमा आएको बाढीपछि कोरोला नाकाबाट सामान आवतजावत हुँदै आएको थियो । रसुवागढी–केरुङ जोड्ने पक्की सीमापुल बगाएपछि चीन सरकारले बेलिब्रिज जडान गरेको थियो । त्यही पुलबाट यात्रु तथा मालवाहक गाडी ओहोर–दोहोर हुँदै आएकोमा १० भदौको विनाशकारी बाढीले नेपाल र चीनको सीमामा रहेका पुलसहित सबै संरचना बगाएपछि खण्डहर भएको छ । 

चीनले सीमासम्म बाटोको ट्र्याक खोलिसकेको छ, तर संरचना छैन । नेपालतर्फ सीमासम्म बाटो खोल्न तत्कालै सम्भव देखिएको छैन । 

No comments:

Post a Comment