रसुवा, नेपाल चीन सिमानामा लेन्देखाेलाहुँदै भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानीमा आंसिक तथा पूर्ण क्षती पुगेकाे छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
बाढीबाट १ हजार ६ सय २३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् । विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेष गरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ ।
उहाँका अनुसार गोसाइँकुण्ड गाउँपालिकाका वडा नं १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९ सय भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् ।
त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा नं ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्याएको विभागले जनाएको छ । कैदलटार, सिम्ले मुहान र बाँस्थल सिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ ।
बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

No comments:
Post a Comment