ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 19, 2026

एकपाखे बस्तीका पहिराे पीडित १० परिवार सुरक्षित स्थानमा सारियाे


रसुवामा पहिरोको जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० परिवारका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको हो।

बस्ती तलको जमिन चर्किएर भाँसिन सक्ने र पहिरोले घरमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

स्थानान्तरण गरिएका १० परिवारका १७ पुरुष र १४ महिला गरी ३१ जना छन् । अस्थायी बसोबासका लागि १२ वटा टेन्ट निर्माण गरिएको छ । प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको हो।




Wednesday, August 12, 2026

बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासियो

 


रसुवा, उत्तरगया गाउँपािलका -५ बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासिएपछि समस्या भएका छ । 

गतवर्ष लगाइएकाे ग्याबियन भासिएर पुन यसवर्ष लगाइएकाे ग्याबियन पनि भासिएपछि समस्या भएकाे हाे । गत वर्ष र यसवर्ष गरी कराेडाैं रकम खर्च भएपनि बालुवामा पानी जस्तै भएकाे स्थानीयले गुनासाे गरे । 

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु राजमार्गको बनुवा घुम्ती क्षेत्रमा सडकछेउमा निर्माण गरिएको ग्याबियन भासिएको छ। जाली भासिएसँगै उक्त सडकखण्ड अत्यन्तै जोखिमयुक्त बनेको स्थानीय दयाराम आचार्यले बताएका छन्।

यस क्षेत्रमा यात्रा गर्ने सवारीसाधन तथा पैदल यात्रुले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। सडकको तलतिर ठूलो बस्ती रहेकाले ग्याबियन थप भासिएमा सडक संरचनामा क्षति पुग्नुका साथै गम्भीर दुर्घटना हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी आवश्यक मर्मत, संरक्षण तथा जोखिम न्यूनीकरणका कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्।

यसैबीच, उक्त सडकखण्ड प्रयोग गर्ने सबै चालक तथा यात्रुहरूलाई सुरक्षित र सतर्क भएर यात्रा गर्न अनुरोध गरिएको छ। सुरूमा नै ग्यावियन मिलाएर नहालेकाे र तेर्साे गरेर हालेर सिधै माथि उठाएकाे र माथिबाट माटाे भरेपछि लाेड थेग्न नसकेकाे स्थानीयले गुनासाे गरेका छन् ।

डिभिजन सडक कार्यालयले यसकाे बारेमा कुनै प्रतिक्रिया दिएकाे छैन । दाेस्राे पटक पनि नटिक्नुले प्राविधिक फेल भएकाे जनगुनासाे छ । 




टेलिमेडिसिन सेवा विस्तारको लागि ठूलोगाउँ स्वास्थ्यचौकीलाई उपकरण हस्तान्तरण

 

रसुवा, उत्तरगया गाउँपालिकाले ठुलोगाउँ स्वास्थ्यचौकीलाई टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।  

गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।

यस सेवाको सुरुआतसँगै अब स्थानीय नागरिकहरूले आफ्नै गाउँको स्वास्थ्य चौकीबाटै विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श र उपचार सेवा पाउन सक्नेछन् । गुणस्तरीय, सहज र प्रविधिमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको जनाएको छ। 

उत्तरगया गाउँपालिकाद्वारा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

 

रसुवा,  उत्तरगया गाउँपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (मैलुङ) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

प्राकृतिक विपद्का समयमा खोज, उद्धार र राहत कार्यलाई द्रुत र व्यवस्थित बनाउने उद्देश्यले विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। 

विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने र आगामी दिनमा पनि यस्ता पूर्वतयारीलाई निरन्तरता दिइने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।

उत्तरगयाधामका १०८ शिवलिङ्गमा पूजा आराधना


साउनको अन्तिम सोमबार उत्तरगयाधाममा रहेकाे १०८ शिवलिङ्गमा भक्तजनले गरे पूजा आराधना गरेका छन् । 

रसुवा, साउन महिनाको अन्तिम सोमबार आज रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पवित्र धार्मिक तीर्थस्थल उत्तरगया धाममा भक्तजनहरूले पूजाआराधना गरेका छन् । 

त्रिशूली, बेत्रगङ्गा र रुद्रगङ्गाको सङ्गमस्थल तथा त्रिवेणीधामका रूपमा परिचित यस स्थानमा पितृमोक्षका लागि स्नान, तर्पण र श्राद्ध गर्ने ठूलो धार्मिक महत्व रहको छ।

धाम क्षेत्रमा नवनिर्मित १०८ वटा शिवलिङ्गमा आज बिहानैदेखि श्रद्धालुहरूले विशेष पूजा आराधना तथा जलारोहण गरेका छन्।

पौराणिक तथा धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिने यस पावन भूमिमा १०८ शिवलिङ्ग स्थापना गरिएसँगै तीर्थालु तथा दर्शनार्थीहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । साउनको अन्तिम सोमबार भएकाले देवका पनि देवता महादेवुको पूजा गरी मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ रसुवाका स्थानीयसहित वरपरका जिल्लाहरूबाट भक्तजनहरू उत्तरगया धाम पुगेका थिए ।  

धाम परिसरमा शिवलिङ्ग थपिएपछि यस क्षेत्रको धार्मिक पर्यटकीय महत्त्व अझ बढेको छ भने दर्शनार्थीहरूलाई पूजाआराधना गर्न थप सहज र उत्साहप्रद बनेको छ। 

पूर्वाधार विकास, उपलब्धि, अभ्यास, चुनौती बारे छलफल

 

रसुवा, जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

जिल्ला विपत व्यवस्थापन सिमितकाे बैठक पछि रेडियो लाङटाङ ९०.३ मेगाहर्जको आयोजनामा जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा भइरहेको भौतिक र सामाजिक पूर्वाधार विकासको समीक्षा गर्दै भावी रणनीतिका बारेमा साझा धारणा बनाउनु रहेको आयोजकले बताएकाे छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

साे अवसरमा ५ वटै गाउँपालिकाबाट प्राविधिकहरू, डिभिजन सडक कार्यालय नुवाकोटका कार्यालय प्रमुख ईन्जिनियर बद्रीप्रसाद शर्मा ,गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना नुवाकोटका आयोजना प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले प्रस्तुती गरेका थिए ।



केरुङमा करोडौँको कृषि उपज बिग्रिँदै


रसुवा, सामान ढुवानीको लागि केरुङमा नेपाली गाडीको अभाव भएको छ । 

गाडी अभाव हुँदा  केरुङ पाङसिङ क्षेत्रमा नेपाल ल्याउनका तयारी अवस्थामा रहेको अदुवा, लसुन, स्याउ, ड्रागन फ्रुट र सुन्तला लगायतका कृषि तथा फलफूलजन्य सामानहरू रोकिएका छन् । 

गाडीको अभावमा लामो समयदेखि सामान अलपत्र परेको केरूङबाट पुरूषोत्तम पौडेलले बताए ।  पर्याप्त ढुवानी साधन नहुँदा ठूलो परिमाणमा कृषि उपज नासिने अवस्थामा पुगेको पौडेलले भने ।

नेपाली गाडीको सहज व्यवस्था हुन नसक्दा विशेष गरी छिट्टै बिग्रिने तरकारी तथा फलफूल व्यापारमा जोडिएका व्यवसायीहरू ठूलो आर्थिक क्षति व्यहोर्न अबस्थामा पुगेका  छन् । 

सम्बन्धित निकायले तत्काल नेपाली गाडीको व्यवस्था गरी रोकिएका सामान नेपाल भित्र्याउने वातावरण नबनाए व्यापारीको भारी लगानी डुब्नुका साथै नेपाली बजार र उपभोक्तासमेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

तस्वीर र समाचार : पुरूषोत्तम पौडेल