ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, May 1, 2025

कफी खेतीबाट वार्षिक ३ लाख आम्दानी





सरस्वती न्याैपाने

रसुवा, जीवनभर कृषिको सेवा गर्ने प्रतिवद्धता राख्ने ७६ वर्षीय निमावाङदी तामाङले कफी खेतीबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। 

नौकुण्ड गाउँपालिका -४ दनुस्वाराका बासिन्दा तामाङले २०४५ सालदेखि नै कफी खेती गर्दै आएका हुन्।  पाल्पाकाे तानसेनबाट कफी खेतीको तालिम लिएर आएपछि उनले तानसेन, दोलखा लगायतका ठाउँबाट कफीका बिरुवा ल्याएर यहाँ रोपेका थिए। आज उनको प्रयासले रसुवा र नुवाकोटका धेरै ठाउँमा कफी खेती फैलिएको छ।

आफ्नै ८ रोपनी भिरालो जमिनमा उनले एक हजार कफीका बोट रोपेका छन् । लिची, आँप, सुन्तला लगायतका फलफूल पनि लगाएका छन्। ‘जीवन रहुन्जेल कृषि पेसामै लागि रहन्छु’‚ उनी भन्छन्, ‘२०४५ देखि २०८२ सम्ममा धेरै रोपे, धेरै मरे, तर अहिले एक हजार बोट कफी छन् ।

उनले सुरु गर्दा कसैले कफी खेती गरेका थिएनन्, तर आज धेरै युवा उनको प्रेरणाले यसलाई आम्दानीको श्रोत बनाएका छन्। लामाे समयदेखिकाे निरन्तरताले सफलता मिल्ने रहेछ तामाङले भने । 

७६ वर्षको उमेरमा पनि उनी जोससाथ काम गर्छन्। ‘मैले धेरै पढेको छैन, तर अनुभवले नै सबैले मलाई ‘ज्येष्ठ अगुवा कृषक’ भनेर सम्मान गर्छन्,’ उनले भने। उनको लगनशीलताले युवापुस्तालाई पनि गाउँमै रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ।

वैदेशिक रोजगार र सहरिया जीवनतिर धानिएका युवालाई गाउँमै आर्थिक अवसर छ भन्ने देखाउन उनी सफल भएका छन्। कफी खेतीबाट खर्च कटाएर वार्षिक ३ लाख कमाउने उनको उदाहरणले अरूलाई पनि प्रेरित गरिरहेको छ।

नौकुण्ड गाउँपालिकाका वडा अध्यक्ष ज्ञानी वाइबाले ‘गाउँपालिकाको अग्रज कृषक’ भनेर सम्मान गरेका छन् । उपाध्यक्ष चन्द्रबहादुर ग्लानले उनको ईमान्दारी र परिश्रमलाई सलाम गरेका छन्। उनको ‘गोसाईंकुण्ड कफी उद्योग’ लघु उद्योग समूहबाट उत्पादन र विक्री हुँदै आएको छ।

उमेर वा अवस्थाले सफलताको बाटो रोक्न सक्दैन। कफी खेतीलाई आफ्नो जीवनको मिसन बनाएर उनले गाउँमै आत्मनिर्भरताको उदाहरण कायम गरेका छन्।

Sunday, April 27, 2025

उत्तरगयामा महिलाका लागि क्षमता विकास तालिम सम्पन्न




रसुवा, स्थानीय तहमा योजना तर्जुमा १६औ पञ्चवर्षिय योजनामा समावेश समाजका लागि रुपान्तरणकारी रणनीति विषयक महिला क्षमता विकास तालिम बैशाख ९ देखि १२ गतेसम्म उत्तरगया गाउँपालिका- ५ खाल्टेमा सम्पन्न भयाे ।

टेवा नेपाल र उतरगया गाउँपालिकाकाेआर्थिक सहयोग, स्वयकस नेपालकाे आयोजनामा भएकाे तालिममा प्रशिक्षकहरू पुष्कर शर्मा रिमाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, कानुन व्यवसायी गरिमा पाण्डे, योजना शाखा प्रमुख रामकृष्ण न्यौपाने , स्वयकस नेपालकी गायत्री लामिछानेले सहजिकरण गरेका थिए । तालिमा सामुदायिक सुरक्षा जालाे , कार्यपालिका सदस्य, वडाका निर्वाचित महिला तथा दलित सदस्य र अगुवाहरू गरी ३३ जना सहभागी थिए ।

तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा प्रशिक्षण गरिएकाे थियाे ।

१६ औँ योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौतीहरू र त्यसका त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा याेजना बारे छलफल भएकाे थियाे ।

समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल , उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापा मगर र कमला थापा तथा सहजकर्ता पुष्कर शर्मा रिमालले मन्तब्य दिएका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तथा लालीगुराँस महिला सहकारीका अध्यक्ष सीता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।







Friday, April 25, 2025

विनाशकारी भूकम्पकाे १० वर्ष, बिस्थािपत बस्ती स्थानान्तरण अझै भएन


रसुवा, ०७२ साल बैशाखमा गएकाे विनाशकारी भूकम्पका्र १० वर्ष बितेकाे छ । भूकम्पका कारण बिस्थापित  परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

नेपालको संबिधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिएपनि ०७२ वैशाखको भूकम्पका कारण बिस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

बिस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, वालवालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउछन् । बिस्थापित क्याम्पका बृद्धबृद्धा, वालवालिकाहरु अहिले गर्मीले कठिन भएको छ उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका पूर्ण घलेले ईन्सेक प्रतिनिधीसँग भने “अवासको हक कसरी सुरक्षित हुन्छ मानवअधिकारकर्मीहरुले हाम्रो आवाज उठाईदिनु प¥यो ।”

क्याम्पका अगुवा छेकु लामाले भने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्वजनिक स्थान बस्न भनेपछि आफुहरु त्यहाँ बसेको तर पछि प्राधिकारणले नै यहाँबाट उठाउन खोजिएको र हाम्रो समस्या समाधान नभइ प्राधिकरण बिघठन नै भयो ।  

विनाशकारी भूकम्पका आठवर्ष बित्दा पनि निजी आवास पुनर्निर्माणको हुन नसक्दा बिस्थापित समूदायको बस्ती स्थानान्तरण हुन नसक्दा अहिले गर्मीका कारण निकै कष्ठकर जीवन बिताउन बाध्य छन् । गर्मीका कारण यहाँका बृद्धहरुमा स्वस्थ्यमा समेत समस्या देखिन थालेको छ । कुन गर्मी, कुन जाडो, कुन वर्षातको भेल, “वर्खा त त्रिशूली नदिमा आउने बाढीले बस्ती बगाउने त्रासमा हुन्छौं स्थानीय बुटी तामाङले भनिन् सधैं त्रासमा कति बस्नु यहाँ महिला, बालबालिका, जेष्ठ नागरिक कहिलेसम्म जोखिममा बस्ने हो नागरिक अधिकारको प्रत्यभूति गर्न सकिएन ।   

सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लख रुपैयाँ दिने नीति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरु भएपनि त्यसले गति लिन सकेको छैन । बस्ती स्थानान्तरणमा ढिलाई हुनाले यो बर्षातपनि बिस्थापितहरु टिनको छाप्रामै बस्न बाध्य छन् । 

आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई सरकारले जग्गा ३ वर्षअघि तल्लो पैरेमा जग्गा अधिग्रहण गरेपछि अझै आवास निर्माण थालनी भएको छैन । त्यहाँ खाल्टेमा बसेका सवै बिस्थापित परिवारलाइ पुग्ने गरी जग्गा स्थानीय पर्मा लामाले भने छैन । 

आफू बसिरहेको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविस वडा नं ८ र ९ का भूकम्प पीडित अहिले पनि उत्तरगया गाँउपलिका –५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् ।

तत्कालिन समयमा जनप्रतिनिधिहरू, संबिधान सभा सदस्य जनार्दन ढकाललगायत अगुवाहरूले भूकम्प पछिकाे अथक प्रयास लामो सङ्घर्षपछि खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ५ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेको छैन । उता उत्तरगया गाउँपालिका १ काे तिरूमा एकीकृत बस्तीमा घर बनेपनि बिस्थािपत बस्न पाएका छैनन् । बनेका घर थाेत्रा हुन लागे तर उनीहरूले बस्न पाएका छैनन् । 

एक दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापित परिवारलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु आजको आबश्यकता हो, तसर्थ उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमता अनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्यको विषयमा पनि ध्यान दिनु आवस्यक देखिन्छ । 




Tuesday, April 22, 2025

नेकपाकाे ७६ औं स्थापना दिवसमा ५ जना अगुवालाइ सम्मान


रसुवा, नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित ७६ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम ९ वैशाख गते कालिकास्थानमा सम्पन्न भयाे ।

कार्यक्रममा पार्टीमा निरन्तर योगदान गर्नुभएका अगुवाहरू उत्तरगया गाउँपालिका ३ का नरबहादुर गुरुङ, कालिका गाउँपालिका ३ का पदमबहादुर झारीमगर, नौकुण्ड गाउँपालिका ३ का टिकानाथ नेउपाने, गोसाईकुण्ड गाउँपालिकाबाट कामी याङजेन तामाङ र आमाछोदिङमो गाउँपालिका १ वाट गोण्डा तामाङलाइ सम्मानीत गरिएको छ, साथै राष्ट्रिय युवा संघ, नेपाल रसुवा जिल्ला कमिटीले गरेको राजनीतिक, सांगठनीक र रचनात्मक गतिविधिहरूकाे मूल्याङ्कन सहित प्रशंसा पत्र प्रदान गरिएकाे जनाइएकाे छ । उनिहरूलाइ सम्मानपत्र तथा खादा लगाएर प्रमुख अतिथी पार्टी केन्द्रीय नेता इश्वरी रिजालले सम्मान गरेका हुन् ।

छलफलमा उर्केन लामा, रामशरण कुइकेल, लाक्पा तामाङ, बलराम घिमिरे, गाैतम तामाङ लागयत ५ जनाले जिज्ञासा राखेका थिए ।

स्थापना दिवसकाे अवसरमा केक काटेर सुरू भएकाे अन्तक्रिया कार्यक्रममा नेकपा एमालेका नेताहरूले धारणा राखेका थिए । केन्द्रिय नेताहरू अशेक घिमिरे, प्रेम तामाङ, इश्वरी रिजाललगायतले नेकपा स्थापनामा अग्रजहरूले ठूलाे भूमिका खेलेकाे र त्यसकाे जगमा एमालेले मुलुकमा समृद्धि ल्याउने बताए ।



Monday, April 21, 2025

ग्रामीण क्षेत्रमा संचारकाे विकास हुन्छ : संचार मन्त्री गुरूङ


रसुवा, सूचना सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरूङले ग्रामीण क्षेत्रमा संचारकाे विकास तथा पर्वावरणीय संरक्षणमा जाेड्दिनु पर्ने बताए । ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ समापनमा उनले यस्ताे कुरा बताएका हुन् । 

सदरमुकाम धुन्चेमा बैसाख ३ देखि ६ गतेसम्म ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ भएको कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री  पृथ्वी सुब्बा गुरूङले रसुवाका २७ वडामा टेलिफोन सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आजको युग सञ्चारको भएकोले रसुवाका दुर्गम ग्रामीण बस्तीहरूमा सञ्चारको पहुँच पुर्याउन आफूले भरपुर सहयोग गर्ने पनि बताएको छ ।

मन्त्री गुरूङले टेलिफोन सेवा विस्तारमा विशेष जोड् दिनु र दुर्गम क्षेत्रहरूमा डिजिटल पहुँच पुर्याउने योजना अघि सार्ने प्रतिबद्धता जनाए । 

कार्यक्रमको उद्घाटन गोसाईकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र लाङटाङ क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भएको थियो । वन तथा वातावरण राज्य मन्त्री रूपा विकबाट उद्घाटन गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको जनाइएकाे छ । 

रसुवा जिल्ला कला, संस्कृति र भेषभुषामा धनी रहेकोले यसको जगेर्ना र प्रचारप्रसार गर्न गोसाईकुण्ड गाउँपालिकाभित्र आफ्नो परम्परागत सांस्कृतिक नाच समेत प्रस्तुत गरिएको थियो। यसले स्थानीय सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने काम गरेको छ । 


यसैगरी, रसुवा जिल्लामा भएको उक्त महोत्सवले ग्रामीण चलचित्रमार्फत स्थानीय कथाहरूलाई प्रवर्द्धन गर्ने र पर्यटन विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ। महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली चलचित्रहरू प्रदर्शन गरिएको थियो र विभिन्न अन्तरक्रिया, कार्यशाला तथा सेमिनारहरू पनि आयोजना गरिएको थियो ।

यसरी, रसुवामा सम्पन्न उक्त कार्यक्रमले वन्यजन्तु र जैविक विविधता संरक्षणसँगै सञ्चार सेवा विस्तार र सांस्कृतिक संरक्षणमा सरकार र स्थानीय तहको प्रतिबद्धता देखाएको छ।

साे अवसरमा ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी प्रतियाेगिताका लागि याेगदान गर्ने संचार तथा  बिभिन्न सराेकारवालाहरूलाइ सम्मान गरिएकाे थियाे । 



Thursday, April 17, 2025

लाङटाङ मार्गमा इन्टरनेट सेवा



रसुवा, देशकै मूख्य पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा सुचारू भएकाे छ । 

विगत लामो समयदेखि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा उपलब्ध थिएन। साथै, सो क्षेत्र NTC काे टावरको पहुँचबाहिर रहेकोले सञ्चारका साधनहरू अत्यन्तै सीमित थिए।

स्वदेशी तथा विदेशी पर्यटकहरूको माग बढ्दै गएपछि होटल सञ्चालक तेन्जेत लामाको पहलमा ‘एभरेस्ट लिंक’ को उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको छ। हाल जडान गरिएको इन्टरनेट सेवा एकैपटकमा ५०० जनासम्मले सहज रूपमा प्रयोग गर्न सक्ने क्षमतायुक्त रहेको छ।

यो सेवा लामा होटल क्षेत्रमा सञ्चार प्रवाह सुधार गर्न मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने छ । अब देशकै पर्यटकीय क्षेत्रमा अब सहज रूपमा नेट चल्ने लामाले बताए । 

मूख्य न्यायाधिवक्ताद्वारा रसुवाको कारागार तथा हिरासत कक्षको निरीक्षण



रसुवा, बागमती प्रदेश, हेटौंडा स्थित मुख्य न्यायाधिवक्ताको कार्यालयका प्रमुख न्यायाधिवक्ता शुकदेव काफ्लेले रसुवाको कारागार तथा थुनुवा कक्षहरूको निरीक्षण र अवलोकन गरेका छन् । 

निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रसुवाको अपराध अनुसन्धान शाखा, थुनुवा कक्ष, तथा हिरासत कक्षको स्थलगत अध्ययन गर्दै प्रमुख न्यायाधिवक्ताले सो कार्यालयमा दर्ता भई पेण्डिङमा रहेका मुद्दाहरूका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल भयाे । साथै, ती मुद्दाहरूको प्रभावकारी व्यवस्थापन र छिटो कार्य सम्पादन लागि आवश्यक निर्देशनहरू पनि दिए । 

जिल्ला कारागारको कार्यालय भवन, कैदी–थुनुवाहरू बस्ने भवन, तथा समग्र कारागार व्यवस्थापनको निरीक्षण गर्दै, त्यहाँ रहेका कैदी तथा थुनुवाहरूको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिए ।  निरीक्षणपछि उनले कारागार प्रशासनसँग छलफल गर्दै सुरक्षा, स्वास्थ्य सेवा, आवास सुविधा, तथा मानव अधिकारको सम्मान सम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । 

निरीक्षणको क्रममा प्रमुख न्यायाधिवक्तासँग जिल्ला न्यायाधिवक्ताको कार्यालय रसुवा, प्रहरी कार्यालयका पदाधिकारीहरू तथा कारागार प्रशासनका प्रतिनिधिहरू पनि सहभागी थिए।