ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, March 8, 2025

बालबिबाह गर्न लागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा


रसुवा, उत्तरगया गाउँपालिका २ मा बालबिबाह गर्न लागेकाे वा भएकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने वडा अध्यक्षबाट घाेषणा भएकाे छ । 

गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा बालविवाह अन्त्यको लागि बालक्लब समुदाय र विद्यालयको भूमिका सम्बन्धी १ दिन जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम डाडागाउँ माविमा सम्पन्न कार्यक्रममा साे घाेषणा भएकाे हाे ।  

गाउँगाउँमा हुने बालबिबाह अन्त्यका लागि घर तथा समुदायमा जागरण ल्याउनु पर्ने कार्यक्रममा सहभागीहरूले बताए । गाउँपालिका गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा  प्रमुख  अमृता पन्तकाे एक   प्रस्तुतीपछि कार्यक्रममा वडा अध्यक्ष टुकु सुवेदी  बालबिबाह गर्नलागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा गरेका थिए । 

प्रधानाध्यपक नबराज घिमिरेका अनुसार बाल बिबाह गरे कानुनी कारबाही के हुने र के कस्ता नीतिगत ब्यवस्था रहेकाे बारे जानकारी समेत दिइएकाे थियाे । कार्यक्रममा डाडागाउँ माविका शिक्षकहरू, अभिभावक, विद्यार्थी सहभागी थिए ।

बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु र समुदाय नै लाग्नु पर्ने देखिन्छ । 

बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ लगायत धेरै कानुनी ब्यवस्था भएपनि समुदायमा बालबिबाह हुने गरेका छन् । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा हुने कानुनी सजाय निम्न अनुसार रहेको छ । उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था छ । 





होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल



रसुवा, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा विशाल घले निर्वाचित भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष श्री दामोदर नेपालकाे प्रमुख आतिथ्यमा भएकाे होटल तथा पर्यटक व्यवसायी संघ रसुवाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले विशाल घलेलाई अध्यक्ष पदमा निर्वाचित गरी संघको नयाँ नेतृत्व चयन भएकाे हाे ।

अधिवेशनको उद्घाटन समारोहमा बागमती प्रदेश होटल तथा व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। नवनिर्वाचित अध्यक्ष घलेले आफ्नो कार्यकालमा रसुवाको पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, होटल व्यवसायी तथा पर्यटन उद्योगसँग सम्बन्धित समस्याहरू समाधान गर्न सक्रिय पहल गरिने बताए।

संघको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष फुर्पूसिङगी तामाङ , उपाध्यक्ष धन कुमारी तामाङ, रिन्जेन निमा तामाङ,सचिव सञ्जिव उप्रेती,सहसचिव छोवाङ नुर्पु तामाङ र कोषाध्यक्ष बुद्ध लक्ष्मी तामाङ र वासिंगी घले चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि दामोदर नेपालले स्थानीय पर्यटन प्रवर्द्धन, आधारभूत संरचना सुधार तथा होटल व्यवसायको गुणस्तर वृद्धिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, अधिवेशनले रसुवाको पर्यटन क्षेत्रको दीर्घकालीन विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। अध्यक्ष रामशरण गजुरेलकाे अध्यक्षतामा भएकाे अधिवेशनमा गजुरेलले जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।


उत्तरगयामा सार्वजनिक सुनुवाइ सम्पन्न


रसुवा, सामुदायिक सुरक्षा जालाे तथा महिलावादी आन्दोलनको सुदृढीकरण कार्यक्रम अन्तर्गत दोस्रो चरणको सार्वजनिक सुनुवाइ उत्तरगया गाउँपालिकामा ०८१ फागुन २३ गते  सम्पन्न भयो । 

गाउँपालिकाबाट सम्पादन भएका कार्यक्रम र महिलाहरूमा पारेकाे प्रभाव बारेमा सामुदायिक सुरक्षा जालाेमा  आवद्द स्थानीयकाे सहभागीतामा भएकाे सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाल, जनप्रतिनिधिहरू सहभागी थिए । 

सामुदायिक सुरक्षा जालाेका बारेमा स्थानीय संस्था सामाजिक कल्याण तथा वातावरण साेसाइटी रसुवाकी अध्यक्ष गायत्री लामिछानेले जानकारी दिइन् । 

कार्यक्रममा टेवा नेपालीकी सरस्वती श्रेष्ठले महिला सुरक्षा, क्षमता विकास, सुशासन तथा पारदर्शीताकाे अभ्यासका सहयाेग गर्ने बताइन् । 

युएन विमेनकाे सहयाेगमा टेवा नेपाल अन्तर्गत सामुदायिक सुरक्षा जालाेमा आवद्ध उत्तरगया गाउँपालिका क्षेत्रका महलिाहरु तथा सरोकारवालाहरू सहभागी थिए  । सहभागीहरूले स्वास्थ्य, शिक्षा तथा विषयगत शाखाकाे सेवा प्रबाह र महिला तथा बालबालिकाहरूकाे क्षेत्रमा परेकाे प्रभाव बारे प्रश्न गरेका थिए । 

पत्रकार विजया तिवारीले एक युवाले नागरिकता पाउन नसकेकाे विषयमा प्रश्न गरिन भने स्थानीय इश्वरी थापामगरले महिलाकाे क्षमता विकास तथा स्वास्थ्य क्षेत्रमा यस वर्ष के कस्ताे कार्यक्रम रहेकाे छ बारे प्रश्न गरिन् । स्थानीय अप्सरा फुयाँलले महिला, कमला थापा मगर, गैसस महासंघ रसुवाका पुर्व अध्यक्ष बिनाेद लामिछाने, गैसस महासंघ रसुवाका सचिव रितमान वाइवा लगायतले बिपन्न र अपाङ्ता भएकाहरूकाे क्षेत्रमा के कस्ताे कार्यक्रम रहेकाे बारे प्रश्न गरिन् । 

गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले स्वास्थ्य र विपद व्यवस्थापन तथा महिलाकाे सीप तथा क्षमता विवकासमा गरेका कामकाे परिणाम देखिन थालेकाे र अझै प्रभावकारी कार्यकम तय भएकाेले गाउँपालिकामा सूचना लिन र सुझाव दिन पनि अनुराेध गरिन् । उनले सहभागीहरूकाे जिज्ञासामा प्रष्ट पार्दै महिलाकाे नेतृत्व विकासमा गाउँपालिकाले ध्यान दिएकाे बताउँदै दिर्घकालीन साेचका साथ लागि अगाडि बढ्नु पर्ने बताइन् । 

वडा अध्यक्षा मारसिं तामाङ, शिक्षा शाखा प्रमुख सुनिता खतिवडा, स्वास्थ्य शाखा प्रमुख बलराम न्याैपानेलगायतले सहभागीहरूले प्रश्नको जिज्ञासा मेटाउँदै आफ्नो धारणा राखेका थिए । 



परम्परा संरक्षणका लागि मारूनी नाच प्रतियाेगिता


रसुवा, परम्परागत रैथाने संस्कृतिकाे संरक्षणका लागि मारूनी नाच प्रतियाेगिता दोस्रो बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगितामा नुवाकोटको सामरी नृत्य समूह प्रथम भएको छ ।

विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा भएको प्रतियोगितामा म्यागङ गाउँपालिका वडा नम्बर–५ सामरीको मारूनी नाच समूह प्रथम भएको संस्थाका सचिव गीता न्यौपानेले जानकारी दिईन् ।

प्रतियोगितामा रसुवा र नुवाकोट जिल्लाका पाँच समुहले सहभागिता जनाएको उनले जानकारी दिईन् । प्रतियोगितामा किस्पाङको सरस्वती देवी महिला समुह दोस्रो र रसुवाको कालिका भजन कृतन समाज तृतीय भएको छ ।


प्रतियोगिताका विजेताले क्रमशः प्रथमले २५ हजार रूपैयाँ, द्वितीयले २० हजार रूपैयाँ र तृतीयले १५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका थिए । 

जिल्लामा नै दोस्रोपटक भएको मारूनी नाच प्रतियोगितामा मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जर्गेना गरी परम्परागत आस्थाको संस्कृतिलाई जिवन्त राख्न भावी पुस्ताले पनि सिकुन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सोहम सुवेदीले बताए । कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले गर्नुभएको थियो । 




अध्यक्ष सोहम सुवेदी,  जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, उत्तरगया गाउँपालिका अध्यक्ष , माधब अर्याल उपाध्यक्ष, चमेली गुरूङ, बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी शारदा चालिसे, उत्तरगया गापा प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, जनस्वास्थ्य प्रमुख झंप्रसाद आचार्य, नेपाल मगर संघका टेकबहादुर मगर लगायत सहभागी थिए । 


Tuesday, March 4, 2025

माेटरसाइकल दुर्घटना एक घाइते


 

रसुवा, रसुवाको नौकुण्ड खाल्चेतमा दुई माेटरसाइकल दुर्घटना भइ आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका अन्तर्गत खाल्चेतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्।

कालिकास्थानबाट पारच्याङ जादै गरेको बा ७१ प ८२८१ नंम्बरको मोटर साइकल र बिपारित दिशाबाट आउदै गरेको बा ८३ प ३७८७ नंम्बरको मोटर साइकल एक आपसमा ठोक्किदा नौकुण्ड गाउँपालिका - ४ सरमथलीका २० वर्षको सुशान्त वाईबा सामान्य घाइते भएका छन् ।

त्यसै गरी नौकुण्ड गाउपालिका- ६ सर्स्युँका ५० वर्षको सिङ्गि नेगी तामाङको दुवै खुट्टा भाचिएर गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुन्दर चौलागाईले जानकारी दिए । घाईतेलाई प्राथमिक उपचार पश्चात तामाङलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको छ ।


Monday, March 3, 2025

भूमि समस्या समाधान गर्न अन्तक्रिया सम्पन्न


रसुवा, भूमि समस्या समाधान आयोग रसुवाको आयोजनामा विषयगत अन्तक्रिया कायक्रम धुन्चेमा २०८१ फागुन १९ गते सम्पन्न भयो । 


आयोगका जिल्ला अध्यक्ष जनकराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा  सम्पन्न भयो । 


कायक्रम प्रमुख अतिथि घिमिरेले भूमि समस्या समाधान आयोगलाइ स्थानीय तहसँगको समन्वय र सहकार्यमा रसुवाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बासोवासीको समस्या समाधान गरी सरकारले लिएको लक्ष्यमा पुग्न अनुरोध गरे । 

भूमि समस्या समाधान आयोगकाृ तर्फबाट सदस्य सचिव तथा नापी कार्यालय प्रमुख शिब जी केसीले प्रस्तुती गरी भूमि समस्या समाधान आयोगकाे क्षेत्राधिकार तथा यस अघिका आयोगले  गरेका काम बारे जानकारी दिनुभयाे । 

भूमि समस्या समाधान आयोग केन्द्रका विज्ञ सदस्य टेकबहादुर शाह, सदस्य गुञ्ज बहादुर खड्का, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललगायतले छलफलमा भूमि समस्या समाधान आयोगलाइ जिल्लाको भूमि समस्या पहिचान गरेर काम गर्न सुझाव दिएका थिए । 


भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बासोवासीको लगत संकलन गरी बिभिन्न चरमा काम गर्नु पने भएकोले सवैको सामुहिक प्रयासबाट मात्र काम गर्न सकिने भएकोले सवै सरोकारवालाहरू सकरात्मक भएर लाग्नुपर्ने बताएका थिए ।  साथै आयोग र गोसाँइकुण्ड गाउँपालिका बीच कार्य सहमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले हस्ताक्षर गरी हस्तान्तरण भयो । 


महिला भलिबल प्रतियोगिताको उपाधि गोम्बोडाँडा युवा समाजलाइ


रसुवा, ग्याल्बो ल्होसारका अवसरमा गोम्बोडाँडा युवा समाज नेपालका आयोजनामा रसुवा जिल्ला, कालिका–२ गोम्बोडाँडामा आयोजित जिल्लास्तरीय पहिलो महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । 

प्रथम हुने गोम्बोडाँडालाई रू४४ हजार चार सय ४४, द्वितीय हुने नेपाल विद्यार्थी सङ्घलाई रू २२ हजार दुई सय २२ तथा तृतीय हुने ज्याङ्लाङलाई रू ११ हजार एक सय ११ नगद सहित प्रमाणपत्र, पदक र कप प्रदान गरिएको थियो । प्रतियोगितामा पाँच टोली सहभागी थिए ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले खेललाई हरेक वर्ष निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त प्रतियोगितासँगै जनजातीय संस्कृति झल्कने स्थानीय भेशभूषामा नृत्य, बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो । 

प्रतियोगिता समापन कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मीरा लामा, भाषा एवं संस्कृति विज्ञ अजितमान तामाङलगायतको उपस्थिति थियो ।