मानव बेचबिखनकाे आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखनकाे आरोपमा  गाउँपालिका अध्यक्ष पक्राउ

रसुवा, नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षिय नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई प्रहरीले पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा  उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए  ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाेछ ।

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित