ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, September 10, 2026

छा-याँ नेपाल राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई किचेन सेट

 


छा-याँ नेपालले वडा कार्यालयको समन्वयमा कालिका गाउँपालिका –१ राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई ०८३ भदौ २४ गते भान्साका भाँडाकुडा (किचेन सेट) तथा राहत सामग्री वितरण गरेको छ । 

अति आवश्यक सामग्री वितरण गरेकोमा वडा अध्यक्ष दावा तामाङले मानवीय धर्म पूरा गरेको भन्दै संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । 

छा-याँ नेपालका सन्ताेष सिलवालले वडा अध्यक्षकाे राेहवरमा बाढी प्रभावितहरूलाइ राम्चेमा सामग्री हस्तान्तरण गरेका हुन् । 

जनप्रतिनिधि तथा स्याप्रफुका धेरै जना सम्पर्क विहीन



रसुवा, स्याफ्रुबेँसीका स्थानीय समेत रहेका गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ लामा र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार वाइबा सहित धेरै स्थानीय बासिन्दा सम्पर्कविहीन रहेका छन् ।  

स्थानीय दावापेम्बा तामाङले भने ‘गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेँसीस्थित पालिकाको कार्यालय रहेको आसपासका ६० प्रतिशत बस्ती बाढीले बगाएको छ। गाउँपालिकाको भवनसहित ६० प्रतिशत भाग बाढीले बगाइसकेको छ,’ उनले भने, ‘गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार लामा दुवै जना अहिले सम्पर्कविहीन छन् । दुवै जनाको फोन लागिरहेको छैन, स्थानीय त कति हो कति सम्पर्कमा छैनन् । ’

बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पनि ठूलो क्षति पु¥याएको छ। तामाङका अनुसार टिमुरे क्षेत्र बाढीले पूर्ण रूपमा बगरमा परिणत भएको छ। ‘वडा नम्बर २ टिमुरेलाई बाढीले पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ। त्यहाँ अब मानव बस्ती नै नरहने अवस्था बनेको छ,’ उनले भने।

टिमुरेमै पर्ने रसुवागढी क्षेत्र, सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए। उनले भने, ‘२ नम्बर वडामै पर्ने रसुवागढी क्षेत्र, त्यहाँको सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनाहरू सबै ध्वस्त भएका छन्।’

रसुवामा बाढीको वितण्डा बस्ती विलीन

रसुवा, चीनबाट रसुवा पसेको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा बजारमा ठूलो क्षति पु¥याएको छ। स्याप्रफुवेसी, टिमुरे, रसुवागढी, हाकुबेँसी, मैलुङ, सल्लेटार, शान्तिबजार, पहिरेबेँसी, खाल्टे र बेत्रावतीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति गरेको छ। यी बस्तीहरू भग्नावशेषमा परिणत भएका छन्। रसुवागढीलगायतका बस्तीहरू नै विलीन भएका छन्।

रसुवाको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली तामाङका अनुसार बाढी आएको सूचना पाएको १५–२० मिनेटमै बाढी बस्तीमा पुगेको जानकारी दिएकी छन्। उनका अनुसार बाढीले एकैपटक ठूलो क्षेत्र ध्वस्त बनाएको छ। उनले भनिन्, ‘माथिबाट खबर भएको, बाढी आयो भनेर खबर भएको १५–२० मिनेटमै तल आइपुग्यो। एकैचोटि ध्वस्त बनाएको हो।’

९५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा ३ सय ९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रका विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन छन्। रसुवागढी भन्सार, अध्यागमन कार्यालय, स्थानीय पालिकामा कार्यरत कर्मचारी पनि सम्पर्कविहीन छन्। बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनाएको छ। ठूलो संख्यामा स्थानीय बासिन्दाहरू सम्पर्कमा छैनन्।

कतिपय घाइते भएका तथा रसुवाको टिमुरे बजारलगायतका बस्तीहरूका धेरै घर–पसलहरू, पशुचौपायाहरू, भन्सार कार्यालय, प्रहरी चौकीहरू, टेलिकम टावरहरू, सडक, पुल, केही हाइड्रोपावर आयोजनाहरू, विद्युत् गृह र सबस्टेसन, खेतबारीलगायत धेरै ठूलो जनधनको क्षति भएको अवस्था छ। कतिपय बजारको नामोनिसान नै छैन। खण्डहर भएका छन्।


भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढी त्रिशूली नदि किनारका बस्ती बगायाे


भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीका कारण अकल्पनीय क्षति भएको छ। भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूलीबजार, देवीघाटलगायतका बस्तीहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। हालसम्म मानवीय र अन्य क्षतिको यथार्थ विवरण प्राप्त भइनसके पनि प्रभावित क्षेत्रका धेरै नागरिक, सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन भएका छन्। 

चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्।

नौकुण्डमा प्रत्यक्ष रूपमा बाढीले बस्तीमा ठूलो समस्या नपारेको भए तापनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कमा नआएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलनले बताए। अधिकांश रसुवागढीस्थित टिमुरे र केरुङतर्फबाट हराएका हुन्।

बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयले क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र १ हजार ५ सय वटा निजी घरमा क्षति पुगेको छ।

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, ६ वटा पक्की पुल, आठ वटा ‘बेलीब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ।

बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’ मा क्षति पुर्‍याएको छ।


 

Monday, August 24, 2026

गोरखनाथको पात्र देवता यात्रा टोली धुन्चे आइपुगे

 

रसुवा, प्रसिद्ध एवं पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाको अवसरमा गुरु गोरखनाथको पात्र देवता यात्रा टोली सोमबार सदरमुकाम धुन्चे आइपुगेको छ । 

पात्रलाई गोसाइँकुण्ड लग्दा पहिलो रात धुन्चे‚ त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइकुण्डको स्नान एवम् दर्शन गराई सोही मार्ग काठमाडौं ल्याइने र पिरपाटीमा राखिनेछ ।

परापूर्वकालदेखि चल्दै आएको धार्मिक परम्पराअनुसार गुरु गोरखनाथको पात्र देवतालाई गोसाइँकुण्डमा स्नान गराउनका लागि यो टोली धुन्चे आइपुगेको हो।

पात्र देवता यात्रा टोलीको आगमनले हिमाली जिल्ला रसुवा र पवित्र गोसाइँकुण्ड क्षेत्रमा जनैपूर्णिमा मेलाको धार्मिक रौनकता अझ बढाएको छ। काठमाडौँबाट सुरु भएको यात्रा टोलीको पहिलो बास सदरमुकाम धुन्चेमा हुनेछ। दोस्रो दिन उकालो चढ्दै टोली मनमोहक चन्दनबारी  पुगेर बास बस्नेछ।

तेस्रो दिन टोली प्रसिद्ध गोसाइँकुण्ड पुग्नेछ, जहाँ पवित्र कुण्डमा पात्र देवतालाई स्नान गराइनेछ र विशेष पूजाआजा तथा दर्शन सम्पन्न गरिनेछ। धार्मिक विधिपूर्वक स्नान र दर्शन सकिएपछि टोली सोही मार्ग हुँदै काठमाडौँ फर्किनेछ र पात्र देवतालाई पुनः पिरपाटीमा लगेर प्रतिस्थापन गरिनेछ।

काठमाडौं लगेपछि गोरक्ष पात्रलाई माता दक्षिणकालीको दर्शन गराई पिरपाटीमै राखी झम्केश्वरी रथयात्राको दिन विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्रलाई विराजमान गराइसकेपछि विधिवत रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ । 

शताब्दियौँदेखि चलिआएको यो परम्परामा राजा सहभागी हुने चलन रहेतापनि हाल त्यो चलन हटेको छ ।

हरेक वर्ष जनैपूर्णिमाका अवसरमा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्छन्। गुरु गोरखनाथको पात्र देवताको यो वार्षिक यात्रालाई गोसाइँकुण्ड मेलाको मुख्य धार्मिक आकर्षण र पवित्र परम्पराका रूपमा लिइन्छ।

परम्पराका अनुसार निम्न कार्य गरिने छ 

  • पशुपतिस्थित गोरखनाथ आश्रमबाट सुरु भएको यो यात्रा पात्रलाई गोसाइकुण्डतर्फ लैजाने परम्पराअनुसार अघि बढेको हो।
  • बासस्थान र मार्ग: पात्रलाई गोसाइकुण्ड लग्दा पहिलो रात धुन्चेमा बास बस्ने र त्यसपछि चन्दनबारी हुँदै गोसाइकुण्ड पुर्याउने कार्यतालिका हुन्छ।
  • दर्शन तथा समापन: गोसाइकुण्डमा स्नान र दर्शन गराएपछि सोही मार्ग हुँदै काठमाडौँ फर्काएर विधिपूर्वक यात्रा समापन गरिन्छ। [1, 2, 3]
  • जनैपूर्णिमा गोसाइँकुण्ड मेला सुरू जाने हाेइन त ?

     


    यस वर्ष भदाै १२ गते जनैपूर्णिमा मेला

    जनैपूर्णिमा गोसाइँकुण्ड किन जाने ?

    कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ टाडाटाढाबाट भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो ।

    गोसाइँकुण्डबारे पुरा जानकारी

    रसुवा, जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलालाई मर्यादित र सुरक्षित रूपमा मनाउन विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएका छन् । यसवर्ष भदौ १२ गते जनैपूर्णिमा पर्दछ । हरेक वर्ष दशहरा तथा जनैपूर्णिमाको समयमा लाग्ने मेलामा देश विदेशबाट तीर्थयात्रुहरूको घुइँचो लाग्ने गर्दछ । 

    एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका – ५ मा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला मेला सुरु भएको हो ।  

    कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो । 

    पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने जनविश्वास छ । 


    कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने,पितृले मोक्ष मिल्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । 

    काठमाडौंबाट नुवाकोटको बिदुरहुँदै रसुवा सदरमुकाम १ सय किमी यात्रा गरेपनि पुग्न सकिन्छ । धुन्चेबाट विस्तारै पैदल यात्रा गर्दा डेढ दिनमा कुण्ड पुग्न सकिन्छ । बाटोमा विभिन्न रमणीय दृष्यावलोकन गर्दै चन्दनबारी, चौलाङपाटी, लौरिविनायक जस्ता बस्ती पार गरेपछि गोसाईंकुण्ड पुगिन्छ । हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास गरिएको छ । 

    समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईंकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ ।

    एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड लाग्छ  । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटकहरू आउने  गर्दछन् । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाईं ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । 

    कुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ । जनै पूर्णिमा र दशहरामा मेला लाग्ने यहाँ सदावहार स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । हाइकिङ गर्न, कोही तामाङ संस्कृति हेर्न, कोही धार्मिक हिसाबले पुण्य प्राप्त गर्न, केही युवा युवती जोडी र सन्तान प्राप्त होस् भन्ने कामना गर्न र कोही प्राकृतिक दृश्यावलोकन गर्दै सुख, शान्ति प्राप्तिका लागि आउने गर्दछन् । 


    गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेकाले यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले थकाइको महशुस नहुने गोसाइँकुण्ड पुगेर फर्केका यात्रीहरु बताउछन् । कुण्डलाई २००७ सेम्टेम्बरमा रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डमा यसवर्ष भदौ ३ गते मूख्य मेला लाग्दैछ । गोसाइँकुण्ड दर्शन गर्ने क्रममा बाटोमा रहेको उत्तरगयाधाम र कालिकामाइ मन्दिर पनि दर्शन गर्नुपर्ने मान्यता कायम रहेको छ ।


    समुन्द्र मन्थनबाट निस्किएको कालकूट विष खाएर सम्पूर्ण प्राणी जगत्लाई बचाएका शिवले विष घाँटीमा अड्किएपछि पानीका खोजीमा उत्तरापन्थ लाग्दा बेत्रावतीमा आइपुगेर बेतका लौराले पहरामा हानी पानी पिएको र त्यहाँबाट पनि डाह शान्त नभएकाले नीलाद्री पर्वतमा पुगी त्रिशूलले पहरामा हानेर पानी निकाली डाह शान्त गरेको र शिवले रोपेको त्रिशूल धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भनाइ छ ।


    धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी नेपालको दोस्रो ठूलो पदमार्ग गोसाइँकुण्डमा अध्ययन तथा अन्वेषणका लागि आउने गर्दछन् । नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । उनी बास बसेका स्थानमा उनको सालिक बनाइएको छ । तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत प्रदर्शन गरिन्छ । 


    काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक पदयात्रा गन्तव्य हो  । मेलालाइ व्यवस्थित गर्न तथा सरसफाइमा ध्यान दिन ठाउँठाउँमा सूचना बोर्ड,खाना खाजाको दररेट मूल्य सूची राखिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमले जानकरी दिए ।  


    यसवर्षको मेला व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गोसाइँकुण्ड क्षेत्र विकास समितिको सहयोग एवम् सहजीकरणमा भएको बैठकले यस वर्षको जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला मर्यादित रूपमा सम्पन्न गराउन बिभिन्न उपसमिति गठन गरेको र सबै व्यवस्थापनको तयारी भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।  

    लाङटाङ राष्ट्रिय निकुञ्जले जैविक विविधताको संरक्षण गर्ने, धुपी कटानीमा रोक लगाउने, बोटबिरुवाको लौरो निषेध गरी निगालाको प्रयोगका लागि अभिप्रेरित गर्ने, जनचेतनामूलक, सन्देशमूलक फ्लेक्स बोर्ड बनाई ठाउँठाउँमा राख्नेछ । गोसाइँकुण्ड गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी,नेपाल स्काउटलगायत अन्य संघसंस्थालाई धुन्चेदेखि गोसाइँकुण्डसम्म स्वयम्सेवक परिचालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । 







    गोसाइँकुण्डमा सीसीटीभीबाट निगरानी

     


    रसुवा, उच्च हिमाली क्षेत्रमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै सीसीटीभी क्यामेराबाट निगरानी सुरु गरिएको छ। 

    यात्राका क्रममा हुन सक्ने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले यो व्यवस्था मिलाइएको हो।

    गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार मन्दिरमा पूजाआजा हुने क्षेत्र, कुण्डको स्नानस्थल र नाचगान हुने स्थानलगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ।

    जडान गरिएका क्यामेराहरूको निगरानी मोबाइलबाटै गर्न सकिने प्रविधि मिलाइएको छ।स्थानीय सरकारको तर्फबाट सीसीटीभी व्यवस्थापन गरी गोसाइँकुण्ड क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने यात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माणमा गाउँपालिका सक्रिय रहेको उनको भनाइ छ।

    १२ वटा अस्थायी थर्पु निर्माण, पार्किङको पनि नयाँ व्यवस्थाजनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा यात्रीको चाप बढेपछि बसोबासको व्यवस्थापन समेत विस्तार गरिएको छ। 

    लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। श्यामकुमार शाहका अनुसार हाल सञ्चालनमा रहेका १७ वटा स्थायी होटलका अतिरिक्त यात्रीको चापलाई धान्न थप १२ वटा अस्थायी थर्पु निर्माण भइसकेका छन्। स्थानीय व्यवसायीका अनुसार नयाँ थर्पुहरूमा १० देखि ३० जनासम्म बस्न सक्ने क्षमता रहेको छ।यसैगरी, मेलामा आउने यात्रीका सवारीसाधन व्यवस्थित गर्न नयाँ पार्किङस्थल समेत निर्माण भइरहेको छ। केरुङतर्फ सामान आयातका लागि जाने कन्टेनरहरू गुड्ने सडक किनारमै यात्रीका सवारीसाधन पार्क हुँदा आवागमन प्रभावित हुने गरेको थियो। 

    यस समस्यालाई समाधान गर्न रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको पहल तथा लाङटाङ राष्ट्रिय निकुञ्जको सहयोगमा नयाँ पार्किङस्थल तयार पारिएको गाउँपालिकाले जनाएको छ।