ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, July 27, 2026

भोटेकोशी नदीमा हामफालेर एक जना बेपत्ता



रसुवा, गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार यार्डको स्याउ पार्किङ क्षेत्रबाट भोटेकोशी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा रसुवाकै कालिका गाउँपालिका–४ निवासी ४४ वर्षीय खेसम बहादुर तामाङ रहेका छन् । उनकाे आफूले बोकेको झोला नदी किनारमा राखेकाे भेटिएकाे छ ।
घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल (BOP टिमुरे) बाट सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी निरीक्षक विक्रम कुँवरको कमाण्डमा ७ जना र नेपाली सेनाको श्रीनाथ गण घट्टेखोलाबाट उपसेनानी वीरेन्द्रकुमार चौधरीको कमाण्डमा १० जना गरी २४ जनाको संयुक्त सुरक्षा टोली उद्धारमा खटिएको छ।

संयुक्त सुरक्षा टोलीले भोटेकोशी नदी र तटीय आसपासका क्षेत्रमा बेपत्ता तामाङको खोजी कार्यलाई तीव्र बनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

त्रिशूली नदिमा इभी खस्यो, चालक बेपत्ता, उद्धार तथा खोजी कार्य तीव्र

 


रसुवा , गाेसाइकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुबेँसी नजिकै एउटा अनटेस्ट (On Test) विद्युतीय गाडी (EV) दुर्घटना भई खोलामा खसेको छ।

गाडी सहित चालक खोलामा खसेर बेपत्ता भएका छन्। दुर्घटनाको पूर्ण र थप विवरण आउन अझै बाँकी रहेको छ। चालक कालिका -३ निवासी सविन तामाङ रहेकाे र गाडी तथा चालककाे खाेजी सुरू भएकाे छ ।
हाल घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।

इभी र चालक बेपत्ता भएपछि स्थानीयले गरे पासाङ ल्हामु राजमार्ग अवरुद्ध



रसुवा- साउन ९ गते भोटेकोशी नदीमा ईभी गाडी खसेर भएको दुर्घटनालाई लिएर पीडित परिवार तथा स्थानीयवासीले विभिन्न माग राख्दै पासाङ ल्हामु राजमार्ग अवरुद्ध गरेका छन् ।
रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी क्षेत्रमा सडक ठप्प पारेका हुन् । राजमार्ग अवरुद्ध कारण उक्त सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।
सडक अवरुद्ध भएसँगै चीनको मानसरोवरतर्फ जाँदै गरेका तीर्थयात्री बोकेका सवारीसाधनका साथै दर्जनौँ मालवाहक तथा यात्रुवाहक गाडीहरू बाटोमै रोकिएका छन् । साँझ ५ बजे छलफल गरी समस्या समाधान गर्ने गरी इलाका प्रहरी चाैकी कालिकास्थानमा छलफल पछि बीमा दावी रकम समेत १८ लाख ५० हजार पीडितका परिवारलाइ प्रदान गर्ने सहमति पछि अवरूद्ध सडक खुलेकाे छ ।

पहिलो पटक ड्रोनबाट वनस्पति र घाँसका बीउ छरियो


रसुवा, पहिलो पटक ड्रोनमार्फत आमाछोदिङ्मो गाउँपालिका–३ काे सामुदायिक वनमा वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।

डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले सोमबार आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँमाथिको ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छरिएको हो ।

सामुदायिक वनको सक्रियता तथा डिभिजन वन कार्यालय रसुवाको आयोजनामा पहिलो वर्ष १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

२०६५ सालमा डढेलोले क्षतिग्रस्त गत्लाडको वनक्षेत्रको पुनरुत्पादन प्रवर्द्धनको लागि ड्रोनद्वारा सीड सोइङ गरिएकाे डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।

डढेलोबाट क्षतिग्रस्त गत्लाड वन क्षेत्रको पुनरुत्पादन प्रवर्द्धनका लागि ड्रोनमार्फत सीड बल छर्ने (सीड सोइङ) अभियान सुरु गरेको छ। वन क्षेत्रमा प्राकृतिक पुनर्जननलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएका सीड बलहरू ड्रोनको प्रयोगबाट छर्ने कार्य अघि बढाइएको हो। यस अघि धेरै पटक स्थलगत अध्ययन गरेर त्रिभुवन विश्व विद्यालयका प्राध्यापक राजेश राइकाे नेतृत्वमा ड्रोनमार्फत बीउ छरिएको हाे ।

अभियानमा डिभिजन वन कार्यालय रसुवाको प्राविधिक टोली, वन कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ।

दुर्गम तथा कठिन भूभागमा छिटो, प्रभावकारी र वातावरणमैत्री रूपमा वृक्ष पुनर्स्थापना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले डढेलो प्रभावित वन क्षेत्रको हरियाली पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।



Monday, July 13, 2026

रसुवा पूर्णखोप सुनिश्चितता जिल्ला घाेषणा

 


रसुवा, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता ।"नारा सहित

रसुवा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भयाे ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका ५ वटै स्थानीय तह तथा वडाहरूलाई पूर्णखोप घोषणा गरेसँगै जिल्लालाई नै पूर्ण रूपमा घोषणा गर्न बागमती प्रदेशबाट खटिएका निरीक्षकहरूको टोलीले विस्तृत अनुगमन सम्पन्न गरेको छ।
राष्ट्रिय खोप कार्यक्रमको पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ ९तेस्रो संस्करण २०७७०ू मा व्यवस्था भए बमोजिम नेपाल सरकार स्वास्थ्य सेवा विभागको अनुसूची १० अन्तर्गतको प्रमाणीकरण तथा अनुगमन चेकलिस्ट अनुसार यो अनुगमन गरिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य अधिकृत निरध्वज घर्ती मगरका अनुसार जिल्लाभर गरिएका विभिन्न सर्वेक्षण र अनुगमनका क्रममा हाल रसुवा जिल्लामा एक जना पनि बालबालिका खोप पाउनबाट नछुटेको सुनिश्चित भएको छ। साे अवसरमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा खाेप कार्यकर्ता सम्मान गरिएकाे थियाे ।

जिल्ला खोप समन्वय समिति, रसुवाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता र यसको दिगोपनालाई कायम राख्नका लागि स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै समुदायको सहभागिता र स्वामित्व बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
घोषणा सभामा उपस्थित अतिथिहरूले रसुवा जिल्लालाई स्वास्थ्य क्षेत्रमा अझ अगाडि बढाउन र बालबालिकाहरूको पूर्ण खोप पाउने अधिकारलाई निरन्तरता दिन सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिएका थिए ।




दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम सम्पन्न


रसुवा, दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम अन्तर्गत रु. ५० हजार रूपैयाँ प्रदान गरिएकाे छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय तथा विभेदरहित समाज निर्माणको भावनालाई आत्मसात गर्दै दलित–गैरदलित विवाह गरी सामाजिक सद्भाव, सामाजिक एकता, पारस्परिक सम्मान तथा जातीय विभेद उन्मूलनमा अनुकरणीय योगदान पुर्याउनुभएका दम्पतीलाई उत्तरगया गाउँपालिकाद्वारा सम्मान गरिएको हाे ।

उनीहरूलाइ प्रेरणादायी कार्यको उच्च कदर गर्दै उत्तरगया गाउँपालिकाको दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम अन्तर्गत रु. ५०,०००/- (अक्षरेपी पचास हजार रुपैयाँ मात्र) प्रोत्साहनस्वरूप प्रदान गरिएको छ। साथै सामाजिक समानता, समावेशीकरण तथा विभेदरहित समाज निर्माणमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप प्रशंसापत्र समेत प्रदान गरिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालले बताए ।

यस वैवाहिक सम्बन्धले सामाजिक रूपान्तरण तथा जातीय विभेदमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ सम्मान गरिएकाे हाे ।

रसुवामा भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती


 

आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको अवसरमा स्रष्टाघर रसुवाको आयोजनामा विशेष साहित्यिक समारोह आयोजना गरी मनाईएकाे छ ।


‘शक्ति सिर्जनामा : चेतना समाजमा’ भन्ने मूल नाराका साथ स्रष्टाघर रसुवाको आयोजनामा कालिका गाउँपालिका-२ कालिकास्थानमा मनाइएकाे हाे ।

नेपाली भाषा र साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा भानुभक्तका कालजयी रचनाहरू (रामायण) का साथै स्थानीय तथा आमन्त्रित स्रष्टाहरूका विभिन्न साहित्यिक सिर्जनाहरू वाचन गरिने गरेका थिए ।

स्रष्टाघर रसुवाका संयाेजक झंकनाथ न्याैपानेकाे अध्यक्षतामा प्रमुख प्रमुख अतिथी सर्जक शिवराम भट्ट, प्रेम प्रसाद पाैडेल, रत्नप्रसाद पाैडेल, शिशिर न्याैपाने, दुर्गा  आचर्यलगायतका स्रष्टाहरूले भजन, गीत, कविता तथा रामायण बाचन गरेका थिए ।