३ किलो सुन तस्करी प्रकरण : १९ करोडको मुद्दा, १० लाखमा रिहा

चीनको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् ।

सुन तस्करीबारे अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । ६ माघमा विभागले रसुवाका रामकृष्ण वाइबा, रसुवाकै गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घलेविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट ९नियन्त्रण तथा अनुसन्धान० ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

पाँच जनाविरुद्ध कुल १९ करोड ४ लाख ५५ हजार बिगो र सोही बराबरको जरिवना मागदाबी गरिएको थियो । पक्राउ परेकाहरु सबैलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ माघमा उच्च अदालत न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो । 


सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।

घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

परिसरबाट उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको थियो । उक्त मुद्दामा धरौटी माग भएपछि उनीहरुलाई सुन तस्करीबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाइएको थियो ।

केरुङ नाकाबाट आएको भनिएको उक्त सुन धादिङको खानिखोला आएपछि हतियारधारी समूहले लुटेको बताइएको छ । उक्त कसले लुट्यो र कहाँ पुर्‍यो भन्नेबारे अहिलेसम्म अज्ञात नै छ । यता सुन लुटिएर अपहरण गरेर बन्धक बनाइएका चालक वाइबाले २० लाख रुपैयाँको चेक काटेपछि मात्रै उनी अपहरण मुक्त भएका थिए ।

उनै वाइबाले अपहरणबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान गर्दा अपहरणको कारण सुनसँग जोडिएको खुलेको थियो ।

-अनलाइन खबरबाट

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित