ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, July 11, 2026

स्याउबारी सामुदायिक वनमा राष्ट्रिय युवा संघद्वारा वृक्षारोपण

रसुवा, राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको आयोजनामा रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित स्याउबारी सामुदायिक वनमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र 'हरित नेपाल' निर्माणको राष्ट्रिय अभियानलाई टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । वृक्षरोपण अभियान एक महिना सम्म सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपाल रसुवाले जनाएकाे छ । वातावरण जोगाउने यस पवित्र कार्यमा युवाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय जन प्रतिनिधि, युवा तथा नेताको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपालले प्रकृति र वातावरण संरक्षणका लागि युवा वर्ग सदैव अग्रपंक्तिमा उभिनुपर्ने सन्देश दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

युवा संघ रसुवाले वर्षेनी वृक्षारोपण कार्यक्रम गर्ने गरेकाे छ । साे अवसरमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङ, नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, पार्टी जिल्ला कमिटीअध्यक्ष कैसाङनुर्पु तामाङलगायत सहभागी थिए ।


उपाध्यक्ष विनय शाह,  महासचिव महेश चौलागाई, पार्टी बागमती प्रदेश कमिटी सह सचिव रमेश आचार्य, बागमती प्रदेश कमिटी सदस्य जय गुरुङ, संगठनको सचिव निशा लिम्बु, सचिवालय सदस्यहरू देवराज वाईवा, सिर्जना लामालगायत स्थानीय युवा, पार्टी कार्यकर्ताहरू सहभागी थिए । बागमती प्रदेश कमिटी अध्यक्षता हरिशरण जमकटेल सचिव कुमार नगरकोटीले सञ्चालन गरेका थिए ।  साे अवसरमा मयुर धुपी सल्ला, टिमुर, धुपी गरी २ सय वटा विभिन्न प्रजाती बिरुवा राेपिएकाे थियाे । 




Monday, July 6, 2026

कविता


 
रचना: डा. अनिता श्रेष्ठ

गोसाइँकुण्ड बाबा सँगको भेटले जीवन उज्यालो बनायो।

एकै छिनमा मस्तिष्कमा शान्तिको दीप बलायो।।


तिमी नै परम, तिमी नै पूरा, तिमी नै सत्यको आधार।

तिम्रो चरण सम्झिँदा खुल्छ मनको द्वार।।


हिमालजस्तै शान्त तिम्रो मुहार, आँखा करुणाले भरिएको।

तिम्रो बोली अमृतजस्तो, मेरो मनभित्र झरिएको।।


गोसाइँकुण्डको पावन छायाँ, तिमीले बाटो देखायौ।

अँध्यारोमा हराएको मनलाई, ज्योतिको चिनो दियौ।।


हे बाबा, तिमी गुरु, तिमी नै मेरो सहारा।

तिम्रो नाम जप्दा हट्छ, मनको सबै अँध्यारा।।


तिमी नै शिव, तिमी नै शक्ति, तिमी नै प्रेम अपार।

तिम्रै कृपाले खुलोस् बाबा, मेरो अन्तर-द्वार।।


न धन चाहिन्छ, न मान चाहिन्छ, चाहिन्छ तिम्रो आशीर्वाद।

तिम्रो दर्शन पाएपछि, हरायो सबै विषाद।।


गोसाइँकुण्ड बाबा, मेरो जीवनको ज्योति।

तिम्रो चरणमा राख्छु बाबा, श्रद्धा, प्रेम र भक्ति।।


जय बाबा, जय गुरु, जय गोसाइँकुण्ड धाम।

तिम्रो नाम जपिरहूँ सधैँ, यही हो मेरो काम।।

Friday, July 3, 2026

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


रसुवा, गोसाँईकुण्ड गाउँपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आज आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय टिमुरे र सशस्त्र प्रहरी बल नेपाल (BOP) टिमुरेलाई विपद्का बेला प्रयोग हुने विभिन्न उद्धार सामग्रीहरू उपलब्ध गराएको हो।
वर्षायामको सुरुवातमै गरिएको यस सहयोगले गाउँपालिका क्षेत्र भित्र आइपर्ने प्राकृतिक विपद् जन्य घटना तथा आपत्कालीन अवस्थामा छिटो, छरितो र प्रभावकारी रूपमा उद्धार एवं राहत कार्य सञ्चालन गर्न ठूलो टेवा पुग्ने विश्वास लिइएको गोसाँईकुण्ड गाउँपालिकाले जनाएकाे छ।

जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रम सुरू


रसुवा, जिल्ला समन्वय समिति रसुवाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगति समीक्षा एवं आगामी आर्थिक वर्षको कार्यक्रम सम्बन्धमा समीक्षा कार्यक्रम सुरूभएकाे छ ।

असार १७ र १८ गते संचालन हुने उक्त दुई दिने कार्यक्रममा जिल्ला भित्रका स्थानीय तहहरू लगायत सरकारी कार्यालय विभिन्न संध संस्थाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका छन ।

कार्यक्रममा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा विस्तृत छलफल भएको छ। जिल्ला समन्वय समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विकास निर्माणका कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता समेत जनाइएको छ।



मानवअधिकार संरक्षण सम्बन्धी अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न

 


रसुवा,रसुवाको धुन्चेमा मानवअधिकार संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला समन्वय समितिको कार्यालय, धुन्चेमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो।  असार १८ गते  आयोजित यस कार्यक्रममा समाजमा मानव अधिकारको रक्षा, कानुनी साक्षरता र नागरिक सचेतना अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमका वक्ताहरूले ग्रामीण क्षेत्रमा मानव अधिकारको अवस्था र यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीचको समन्वयमा जोड दिएका थिए। सो अवसरमा सुरक्षा निकायका प्रतिनिधिहरूले कानुनी उपचारका प्रक्रिया र सुरक्षा सचेतनाका बारेमा जानकारी गराएका थिए।



उत्तरगयाधाममा स्वच्छ र प्रदूषणमुक्त बनाउन डस्टबिन तथा बाेर्ड राखियाे

 


रसुवा, पवित्र धार्मिक तथा पर्यटकीय स्थल उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले १० सेट डस्टबिन र ३ वटा सन्देश मुलक बाेर्ड राखिएको छ ।

“स्वच्छ, सफा र प्रदूषणमुक्त उत्तरगयाधाम, सभ्य नागरिकको पहिचान” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय रसुवाको आयोजनामा, उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा डस्टबिन राखिएको हो । 

डस्टबिन राख्नाले उत्तरगयाधाम क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न, फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा धार्मिक स्थलमा आउने श्रद्धालु र पर्यटकहरूमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

उत्तरगयाधाम धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण गन्तव्य भएकाले यसको प्राकृतिक सौन्दर्य र पवित्रता संरक्षण गर्नु सबैको साझा दायित्व हो । त्यसका लागि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरसफाइसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । 


डस्टबिनको उचित प्रयोग गर्दै उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त राख्न स्थानीयवासी, श्रद्धालु तथा पर्यटक सबैमा आयोजकले आग्रह गरेको छ । उत्तरगया क्षेत्र विकास समिति र स्थानीय तहले  धार्मिक तथा पर्यटकीय क्षेत्र उत्तरगयाधामलाई स्वच्छ, सफा र सुन्दर राख्न र थप विकास गर्न गुरू याेजना बनाएर लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख अशाेककुमार घिमिरेले बताए । 

साे अवसरमा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, वडा अध्यक्ष यमनाथ आचार्य, उत्तरगया क्षेत्र विकास समितिका साेमलाल लबट, समाजसेवी झंकनाथ न्याैपाने, नेपाल प्रहरी, सामुदायिक वन उपभाेक्ता महासंघ लगायतकाे सहभागिता रहेकाे थियाे । 





एक विद्यालय, एक ल्यापटपू कार्यक्रम सुरु

 



रसुवा, गोसाईकुण्ड गाउँपालिकाले सूचना प्रविधिको विकास र डिजिटल सिकाईलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक विद्यालय, एक ल्यापटपू कार्यक्रम सुरु गरेको छ।

 आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आज मिति २०८३ साल असार १९ गते गाउँपालिकाले पहिलो चरणमा पाइलटिङ (परीक्षण) को रूपमा पालिकाभित्रका धेरै विद्यार्थी संख्या भएका ५ वटा विद्यालयलाई निःशुल्क ल्यापटप वितरण गरेको हो।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, उपाध्यक्ष प्रतिमा तामाङ र प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रतिनिधिहरूलाई ल्यापटप हस्तान्तरण गरिएको हो।

गोसाइँकुण्ड गाउँपालिका अन्तरगत रहेको विद्यालयहरु कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालय स्याफ्रुवेशी ,रसुवा माध्यमिक विद्यालय धुन्चे, सरस्वती आधारभूत विद्यालय, भीमसेन आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरे लगायत पाँच विद्यालयलाइ ल्यापटप वितरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले आधुनिक शिक्षामा प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको र यो कार्यक्रमले विद्यालयहरूको प्रशासनिक एवं शैक्षिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

त्यस्तै, उपाध्यक्ष प्रतिमा तामाङ र प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले आगामी दिनमा यस कार्यक्रमको प्रभावकारिता हेरेर अन्य विद्यालयहरूमा पनि बिस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए । 

वितरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। प्रविधिको युगमा गाउँपालिकाले चालेको यस कदमलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।