ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, August 10, 2024

गोसाइँकुण्ड मेलाका लागि होटलहरुमा मूल्य सूचि निर्धारण



रसुवा, रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपुर्णिमा मेला नजिकिएसँगै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने गरि दररेट निर्धारण गरिएको छ ।

धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभर मूल्य सूचि निर्धारण गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँका अनुसार पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।

अब यात्रुहरुले एक कप तातोपानीको स्थान अनुसार १० रुपैंयादेखि ८० रुपैंयासम्म तिर्नुपर्ने छ भने २७५ रुपैंयाँ देखि ६ सय रुपैंयासम्म सादा खानाको रकम तोकिएको छ ।

यसैगरि स्थान अनुसार घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ । नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन् ।



पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम


 

रसुवा, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले बुधबार रसुवाको सदरमुकाम धुन्चेमा युसएआइडि जल जङ्गलको आर्थिक सहयोगमा रसुवाको लाङटाङ क्षेत्रमा दिगो पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम संचालन गरेको छ ।

 

कार्यक्रमको मुख्य लक्ष्य रसुवाको लाङटाङ क्षेत्रका स्थानीय समुदायको जलवायु,उन्मुखता र जिविकोपार्जनमा वृद्वि गर्दै लोपोन्मुख रेड पाण्डा (हाब्रे ) र यसको बासस्थान संरक्षणका साथमा प्रवर्द्धन गर्ने रहेको छ । कार्यक्रमको उत्घाटन गर्दै ल्याकोसका अध्यक्ष सन्तोष घलेले कार्यक्रमद्वारा स्थानिय समुदायको जिवनस्तर सुधारमा योगदान पुराउने उदेश्य रहेको बताउनु भएको छ । 

 

रसुवाको तीन वटा गाउँपालिका गोसाइँकुण्ड,कालिका र नौकुण्डमा युएसएआईडी जैविक विविधता ९जल जङ्गल०ले ल्याकोस संग मिलेर २०२४ जुलाई १८ देखि नोभेम्वर २४ सम्म काम गर्ने भएको छ। उक्त कार्यक्रममा तीन वटै गाउँपालिका अध्यक्ष सँगै विभित्र सरोकारवाला निकायहरू, पत्रकारहराएको उपस्थिति थियो ।

रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोडको चिनियाँ सामग्री आयात


रसुवा, गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए।

       

निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेको राससले जनाएको छ। आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनको भनाई छ। 


गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए। गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

 

गत वर्ष आयात भएका सवारीसाधनको मूल्य रु १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ। आव २०७९र८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए। आव २०८०र८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ।



पहिराेले अवरूद्ध धुन्चे - भार्खु सडक खण्ड सञ्चालन



रसुवा, पासाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे - भार्खु सडक खण्ड सञ्चालनमा आएको छ। 

बिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर रसुवाको धुन्चे-भार्खु खण्ड सडक अबरुद्ध भएको थियो।  सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरि सडक सूचारु गरिएको हो।

सडक अवरूद्ध हुँदा केही बेर बस तथा अन्य सवारी साधन राेकिएका थिए ।  

 

Friday, August 9, 2024

अकबरे खुर्सानी खेतीबाट आम्दानी


रसुवा, उत्तरगया गाउँपालिका १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

उत्तरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष  ८७ जना कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी लिन थालेका छन् । 

पिरो खुर्सानीबाट राम्राे आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । 

गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु। दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । 

अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादशैं अगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । 

खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानी मूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

सामुदायिक वन दिवसमा वृक्षारोपण तथा उत्कृष्ठ सामुदायिक वन सम्मान





रसुवा, डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सामुदायिक वन दिवस मनाइएको छ ।

दिवसको अवसरमा उत्तरगया गाउँपालिका –१ को गुप्तीपाख सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुभबहादुर तामाङलाइ सम्मान पत्रद्वारा डिभिजन वन अधिकृत बद्री ढुंगाना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले संयुक्त रुपमा सम्मान गरेका थिए । उनले आफ्नो सामुदायिक वनमा सतुवा खेती तथा लौठ सल्ला रोपण गरी वन व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले वन कार्यालय परिसरमा वृक्षारोपण समेत गरेर सामुदायिक वन दिवस मनाएका थिए ।



Tuesday, August 6, 2024

भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण


रसुवा, पर्यटकीय स्थल उत्तरगया गाउँपालिका -२ भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण सम्पन्न भयाे । 

आन्तरिक पर्यटकको राेजाइकाे महत्त्वपूर्ण गन्तब्य बन्दै गरेको उत्तरगया-२ स्थित भाङ्गे झरनामा शौचालयको आवश्यकतालाइ महसुस गर्दै पर्यटकहरूका लागि  अस्थायी शौचालय निर्माण राष्ट्रिय युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकाेटीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल प्रदेश निर्वाचन समन्वय कमिटी ख को आयोजनामा  अस्थायी शौचालय निर्माण सम्पन्न गरेको छ । निर्माण  कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य दावा मिङमार तामाङ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कुमार नगरकोटी, नेकपा एमाले उत्तरगया गाउँपालिका कमिटीका सचिब रमेश सुबेदी , समाजसेवी दिलकृष्ण श्रेष्ठलगायतका राष्ट्रिय युवा संघ रसुवाका नेता कार्यकर्ताहरू उपस्थिति थिए ।