ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, April 21, 2026

रसुवामा याक तथा चाैरी महाेत्सब हुँदै

 



रसुवाको पार्वतीकुण्डमा पर्यटन प्रवर्दन गर्ने उद्देश्यले बैशाख १३ देखि १५ गतेसम्म मनाउन गईरहेकाे याक तथा चाैरी महाेत्सब विशेष कार्यक्रम सहित मनाइने भएको छ ।

आमाछोदिङमो गाउँपालिकाकाे पार्बती कुण्डमा हुने याे महाेत्सबले याक संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण सहयाेग मिल्नुका साथै स्थानीय पर्यटन, संस्कृति र पशुपालन प्रवर्द्धनमा समेत थप टेवा पुर्याउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमलाई सभ्य र भब्यरुपले सफल बनाउनका लागि तपसिलका प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गरिने छ ।

कार्यक्रमलाइ भब्य बनाउन प्रचार तथा रैथाने परिकारका खाना र पाहुनाकाे स्वागत गरिने प्रचार प्रसार समितिका संयाेजक फुर्पुसिङ्गी तामाङले बताए ।

क) पालिकास्तरिय साँस्कृतिक कार्यक्रम प्रतियोगिता

प्रथम पुरुस्कार :- रू ३०००० नगद + ३ केजी चिज
द्वतिया पुरुस्कार :- रु २१५०० नगद + २ केजी
तेस्राे पुरुस्कार :- रु १२५०० नगद + १ केजी
चाैधाे पुरुस्कार :-रू ५००० नगद + १/२ केजी चिज
टिम दर्ता शुल्क :- रु १०००

दर्ता समय :- १२ गतेकाे बेलुका १० बजेसम्म खुल्ला रहने छ।
ख) पालिकास्तारिय मिनी म्याराथन प्रतियोगिता

प्रथम पुरुस्कार :- १०००० नगद + २ केजी चिज
दाेस्राे पुरुस्कार :- ६००० नगद + १ केजी चिज
तेस्राे पुरुस्कार :- ३००० नगद + १/२ केजी चिज
चाैधाे पुरुस्कार :- १००० नगद + १/२ केजी चिज
दर्ता शुल्क :- रु ५००
दर्ता समय :- १२ गते बेलुबा ५ बजेसम्म खुल्ला रहनेछ ।

नाेट:- सबै बिजय कलाकारहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने छ । अन्य उपस्थित कलाकारहरुलाई आयाेजककाे निर्णय अनुसार व्यबस्थापन गरिने वेहाेरा समेत जानकारी गराईन्छ । साथै थप मनाेरञ्जान कार्यक्रमहरुकाे लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट पनि साँस्कृतिक कार्यक्रमहरुकाे प्रस्तुतिहरुमा निरन्तरता दिनेछ ।

१३औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिकास्थानमा हुँदै


रसुवा, जिल्ला खेलकुद विकाश समितिको आयोजनमा १३औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ बैशाख ९ गतेबाट सुरू हुने भएकाे छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ रसुवाको कालिकास्थानमा आयोजना हुने भएको छ।

रसुवा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कालिका गाउँपालिकाको सहजीकरणमा हुने यस प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूमा स्वास्थ्य, अनुशासन र सहकार्यको भावना विकास गर्दै उनीहरूलाई राष्ट्रिय खेल क्षेत्रमा स्थापित गराउने उद्देश्यले यो रनिङ शिल्ड आयोजना गरिएको हो। उद्घाटन र समापन तालिका रसुवा खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङका अनुसार प्रतियोगिता आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।
समापनस् वैशाख ११ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङबाट हुनेछ। उद्घाटनस् वैशाख ९ गते बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री श्रीमती उर्मिला नेपालबाट हुनेछ।

तीन दिनसम्म चल्ने यस महोत्सवमा जिल्लाका पाँचवटै गाउँपालिकाहरू गोसाईकुण्ड, कालिका, उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मोबाट छनोट भएका ३ सयभन्दा बढी खेलाडीहरूको खेलमा सहभागी हुनेछन् । साे कुरा वैशाख ४ गते कालिकास्थानमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी दिए ।


सहभागिता र व्यवस्थापन

खेल विधा अनुसारको व्यवस्थापनका लागि सुरक्षा निकायसँग समन्वय गरिएको छ।
खेलाडीहरूको आपतकालीन स्वास्थ्य सेवा तथा प्राथमिक उपचारका लागि कालिका गाउँपालिकाको शिक्षा शाखासँग सहकार्य गरिएको छ।

खेलाडी सम्मान र सांस्कृतिक आकर्षण

प्रतियोगितामा गत वर्ष ९२०८२० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सफल खेलाडीहरूलाई नगद सहित सम्मान गरिने कार्यक्रम छ। साथै, जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई ‘जिल्ला उत्कृष्ट’ घोषित गरी सो वर्षका लागि छात्रवृत्तिको व्यवस्था गरिने अध्यक्ष तामाङले जानकारी दिए ।
खेलकुदका साथै महोत्सवमा सांस्कृतिक संरक्षणलाई पनि जोड दिइएको छ। कार्यक्रममा नेपालको सर्वोत्कृष्ट तेक्वान्दो टोलीबाट डेमोस्ट्रेसन प्रदर्शन हुनुका साथै रसुवाको परम्परागत संस्कृति झल्काउने छत्रनाच, भजनकीर्तन, बाजागाजा र लामा झाँक्री नाच समेत प्रदर्शन गरिनेछ।





रसुवामा पहिलाे पटक याक दिवस


रसुवा, रसुवामा पहिलाे पटक याक दिवस मनाइएको छ । सो अवसरमा चौरी तथा याक पालक किसानहरूलाई सम्मान तथा सोलार बितरण भयो । 

नेपाल सरकार संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय पशुसेवा बिभागको आयोजनामा आमाछोदिङमो गाउँपालिकामा राष्ट्रिय याक दिवस मनाइएको छ । 

याक तथा चौरी महोत्सव मुल समिति आमाछोदिङमो गाउँपालिकाको सहाकार्यमा दोस्रो राष्ट्रिय याक दिवस आमाछोदिङमो गाउँपालिकास्थित पार्वतीकुण्डमा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको स्थानीय अगुवा फुर्पुसिङ्गी तामाङले बताए ।  

उक्त दिवसमा पशुसेवा बिभागको महानिर्देशक डा सकुन्तला श्रेष्ठले, राष्ट्रिय याक महासंघको अध्यक्ष पबिहाङ राइलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा ५५ जना स्थानीय किसानलाइ सम्मान गरी सोलार बितरण समेत गरियो । दिवसमा याक तथा चौरी संरक्षण गरी कृषि पर्यटनको प्रवद्र्धन हुने अपेक्षा गरिएको बताइएको छ ।

रसुवामा मनाइएकाे दिवसले याक संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको छ। यस दिवास मनाउनलाई याक तथा चौरी महोत्सव मूल समारोह समिति, आमाछोदिङमो–गतलाङको सहजिकरणमा हुने उक्त कार्यक्रममा याक महासंघ नेपाल, एफएओ (FAO) र इसिमोड (ICIMOD) को आर्थिक सहयोग रहेकाे थियाे ।

याक तथा चौरी पालनले हिमाली समुदायको आयआर्जन खाध्य र पोशण सुरक्षा बाताबरणीय सन्तुलन तथा प्रङगारिक खेतीका लागि सहयोग पुग्ने छ । याक तथा चौरीहरूमा चरण क्षेत्रमा देखिने रागेको समस्या पशु बीमा तथा समयमा उपचार पाउने आशा गरेकाे पशुपालन ब्यबसायीहरू बताउछन् । हिमाली क्षेत्रका तामाङ समुदायका पशुपालन ब्यबसायीहरुको प्रमुख आम्दानीको श्रोत रहेको याक चीज,घिउ तथा छुर्पी लगायतका बस्तुहरु लगायत हिमाली सभ्यता र सौन्दर्यको रुपमा रहेका याक को संरक्षण प्रबद्धनमा जोड दिन सहयोग पुग्ने संरक्षण स्थानीय बताउछन् ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्य जन्तुको सूचिमा राखेको छ । दिबसका अबसरमा बिभागले याकको साँस्कतिक महत्व ,स्थानीय झाँकी, तथा याक चौरी पशुपालन ब्यबसायीहरुको समस्यामा समेत छलफलको कार्यक्रम भएकाे थियाे ।



Wednesday, April 1, 2026

गतलाङकाे वनमा क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिँदै


रसुवा, आमाछोदिङ्मो गाउँपालिका -३ गतलाङ  स्थित बाेङ्जाेमाने र जार्सा गाेठेन सामुदायिक वनमा डढेलोका कारण उजाड बनेको  वन क्षेत्रमा ‘ड्रोन’ मार्फत वनस्पतिका बीउ छर्ने र  पुनः हरियाली बनाइने भएको छ। 

विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो। आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो।

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले भौगोलिक असहजका भएपछि डढेलोका कारण उजाड बनेका गतलाङका वन क्षेत्रमा ड्रोनबाट वनस्पतिका बीउ छर्न लागिएको बताए। उनले भने,“स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ सङ्कलन अहिले तीव्र रूपमा भइरहेको छ। 

आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिने छ।” यसका लागि ‘इसिमोड’, वन विज्ञान अध्ययन संस्थान तथा डिभिजन वन कार्यालयबीचको त्रिपक्षीय साझेदारी समेत भएको छ।

डढेलोले प्रभावित चार सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छर्ने तालिका तय गरिएको छ। गतलाङ जङ्गलमा रहेका करिब १६ हजार गोब्रे सल्ला, ठिउरे सल्ला, लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रुख आगलागीबाट नष्ट भएको जनाइएको छ।

आर्थिक वर्ष ०७९/०८० देखि व्यवस्थापन कार्य सुरु भए पनि डढेका रुखको उचित व्यवस्थापन गर्न नसक्दा जङ्गल लामो समयसम्म पुनर्जीवन पाउन नसकेको बताइएको छ। वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएको छ। ती मध्ये करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको वन कार्यालयले जनाएको छ।

जिल्ला वन कार्यालयको कार्यक्षेत्र समयक्रमसँगै परिवर्तन हुँदै आएको छ। विसं २०५६ सालमा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै आधार इलाका रूपान्तरण भएपछि वन कार्यालयको कार्यक्षेत्र घटेर अहिले आठ हजार ३२१ हेक्टरमा सीमित भएको छ।

आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटा वडा, गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ तथा उत्तरगया गाउँपालिकाका वडा नं १, २ र ३ समेत नौवटा वडा छन्। हाल गठित ६८ वटा सामुदायिक वन यसअन्तर्गत संरक्षणको काम अगाडि बढिरहेको छ।

वन कार्यालयले डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। जिल्लाको भिरालो भूगोल, चैत वैशाखको हुरीबतास र दुर्गम तथा भिरालाे वनक्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्ने छ।


Tuesday, March 31, 2026

१५ दिनका लागि रसुवागढीबाट व्यावसायिक कारोबार बन्द



रसुवा,  १५ दिनका लागि रसुवागढीबाट व्यावसायिक कारोबार बन्द हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि काम सुरु हुने भएसँगै भोलिदेखि कारोबार बन्द हुन लागेको हो। 

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार सडक स्तरोन्नतिका लागि हरेक महिना १५ दिन सडक बन्द हुने छ। अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन सडक पूर्ण रूपमा बन्द हुने छ। 

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। अप्रिल १ देखि चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट सुरु हुन लागेको हो। 

यस सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो। निर्माण पक्षले सडक बन्द गर्नुपर्ने माग गरेकाले उक्त निर्णय गरेको योजनाले जनाएको छ। योजनाका अनुसार यस खण्डमा अति अप्ठ्यारो र अति नै जोखिमयुक्त ठाउँहरूमा निर्माण कार्य गर्दा निर्माण सामग्री तथा मेसिनरी राख्नुपर्ने, छिटोभन्दा छिटो प्रगति हासिल गर्न तथा सुरक्षाको दृष्टिकोणले सडक बन्द गरेर निर्माण कार्य गर्नका लागि सडक बन्द गर्नुपर्ने अवस्था आएको हो। 

नागरिकको सामान्य जनजीवन प्रभावित नहुने गरी आपतकालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा निर्माण व्यवसायीले सहजीकरण गर्नेछन्। यस अवधिमा अन्य सवारीसाधनहरू भने सञ्चालन गर्न पाइने छैन। 

स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५।८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउने छ।  

२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ का कारण काम पछि धकेलिएको थियो। 

Sunday, March 29, 2026

अध्यक्ष अ‍ोलीको रिहाइको माग गर्दै एमाले रसुवाले बुझायो ज्ञापनपत्र

 

रसुवा, नेपाल कम्युनिस्ट पार्टी  एमाले जिल्ला कमिटी रसुवाले पार्टी अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै रिहाइको माग गर्दै  जिल्ला प्रशासन कार्यालय रसुवा मार्फत नेपाल सरकार समक्ष पुराउन ज्ञापन पत्र चैत १५ गते बुझाएको छ ।



जिल्ला कमिटी अध्यक्ष कैसाङ नुर्पु तामाङले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा  फागुन २१ गते सम्पन्न भएको निर्वाचन पछि नव गठित सरकारले छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा पूर्वाग्रह पूर्ण तथा प्रतिशोधको कदम चालेको आरोप लगाइएको र यस्तो कार्यले मुलुकलाई द्वन्द्व र अस्थिरता तर्फ उन्मुख गराउने उल्लेख गरिएको छ।

एमाले रसुवाले पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाइ, प्रतिशोधपूर्ण कार्यको अन्त्य तथा लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न सरकारसँग माग गरेको छ। जिल्ला कमिटी अध्यक्ष केसाङनुर्पु तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

यसै गरी, भाद्र २३ गते नवयुवाहरूले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। गैरसंवैधानिक प्रक्रियाबाट गठन भएको सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पुगेको ज्ञापनपत्रमा उल्लेख छ।



Saturday, March 28, 2026

कालिकास्थानमा नेकपा (एमाले) का युवाकाे प्रदर्शन

 

रसुवा, नेकपा (एमाले) रसुवा जनवर्गीय संगठनहरुले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइ गर्न माग गर्दै शनिबार कालिकास्थानमा प्रदर्शन गरेका छन्। 

घटनाको निन्दा गर्दै लोकतन्त्र र कानूनी शासनको विपरीत पक्राउ भएको जनाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगले दिएको सिफारिसका आधारमा शनिबार बिहान एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि रसुवामा सो को निन्दा गर्दै युवा र विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका हुन्। साे अवसरमा एमाले नेता विष्णु देवकाेटाले सम्बाेधन गरेका थिए । 

युवा संघ रसुवा अनेरास्ववियुलगायत जन संगठनले अध्यक्ष ओलीको रिहाइको माग गरेका हुन्। कालिका हिमालय क्याम्पस गेट अगाडि नारा जुलुस गरेका थिए ।