रसुवा, नौकुण्ड गाउँपालिका–६, सरस्यु निवासी फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताकाे प्रमाणपत्र प्राप्त गरेका छन् ।
फुर्पा तामाङले पुस ७ गते जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिएका हुन्। लामो समयसम्म नागरिकताविहीन रहँदै आएका तामाङले नागरिकता पाएपछि आफू हर्षले विभोर भएको प्रतिक्रिया दिएका छन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार आवश्यक सम्पूर्ण कागजात संकलनदेखि प्रक्रिया पूरा गर्न प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूको समन्वय र सहजीकरणमा नागरिकताकाे प्रमाणपत्र प्रदान गरिएको हो।
नागरिकताविहीन अवस्थाका कारण राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्तिपछि अब आफूले नागरिकको हैसियतमा अधिकार र सुविधा पाउनेमा फुर्पा तामाङले खुशी व्यक्त गरेका छन्।
नौकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङले सेवा ग्राहीको खुशी नै आफ्नो खुशी भएको बताउँदै नागरिकको हैसियतले पाउनुपर्ने अधिकार र सेवा सुनिश्चित गर्न सकिएकोमा सन्तोष व्यक्त गरे। उनले राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्न पाउने अवस्थामा पुगेको भन्दै फुर्पा तामाङलाई शुभकामना समेत दिएका छन्।
तस्वीर : याे नुर्पु तामाङबाट

0 Comments :
Post a Comment