ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Lakes. Show all posts
Showing posts with label Lakes. Show all posts

Monday, April 22, 2024

पर्यटकीय सम्भावना बोकेको (जेसुर) जागेश्वरकुण्ड

पर्यटकीय सम्भावना बोकेको (जेसुर) जागेश्वरकुण्ड

रसुवा, आमाछोदिङमो गाउँपालिका–३ मा पर्ने जागेश्वर कुण्डलाइ स्थानीयवासीले जेसुर कुण्ड भन्दछन् । यसलाइ रसुवाकाे एक पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ । 

स्थानीय ओझेलमा परेका स्थानहरूलाई महत्वका साथ प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक योजना बनाउन आवश्यक रहेको छ । जनै पूर्णिमाका दिन मेला लाग्ने याे ठाउँमा आफ्ना परम्परागत भेषभुषा पहिरिएर बाटा भरी मनोरञ्जन गदै तामाङ सेलो गाउँदै सहभागी हुन्छन् ।  समुन्दी सतहदेखि ४ हजार २ सय तीस मीटर उचाइमा रहेको कुण्डमा केही  वर्ष पहिले स्थानीय मानबहादुर बिकले झाँक्री ढ्याङ्ग्रो बजाउँदै त्यहाँ पुगेपछि पानी सुक्ने र झाँक्रीले तान्त्रिक बिधिले पानी निकाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

कुण्ड नजिकै रहेको मन्दिरको खोपिल्टोमा झाँक्रीले तान्त्रिक बिधिबाट नाङ्गै ढ्याङ्ग्रो बजाएर पानी निकाल्ने परम्परा रहेको छ । यस पल्ट पानी सुकाउने र निकाल्नको लागि गत्लाङ र स्याफु गाविसको झाँक्रीहरू बीचमा प्रतिस्प्रर्धा भयो थियो । सुरूमा कुण्डमा झाँक्रीहरू पुगेपछि मानिस पुगेको हल्लाले कुण्ड नजिकको रहेको मन्दिरको खोपिल्टोमा रहेको पानी सुक्ने र त्यस स्थानमा झाँक्री गएर ड्याग्रो बजाएर आफ्नो तान्त्रिक शक्तिले पानी निकाली अनौठोँ कला प्रर्दशन गर्ने गर्छन् । 

१ सय ८ वटा कुण्ड रहेको रसुवामा प्रचार प्रसार र सम्बद्र्धनको अभावमा आझेलमा परेका छन् । यस्ता सम्पादाहरूको समयमै उचित  संरक्षण र सम्र्बद्धन गरी प्रचार गर्न सके जिल्लामा आन्तरीक तथा बाह्य पर्यटकहरूको आगमनमा बृद्धि हुनेमा गत्लाङका युवा विकास लामा बताउँछन् ।  

जागेश्वर कुण्ड गोसाँईकुण्ड र पार्वती कुण्ड आपसमा सम्बन्धित छन् । पहिले खुज्याप र नुर्पुबोम्बोले पानी निकालेको आफुले देखेको र पहिले गोठालाले कुण्ड पत्ता लगाएपछि पुस्तौदेखि यहाँ मेला लाग्ने गरेको झाँक्री मानबहादुर बिकले बताए । 

 गत्लाङका झाँक्रीले थोरै भएपनि पानी निकालेको र आफुले पुजाआजा गरी प्रयास गर्दा अनौठो आवाज दिएकोले त्यहाँ दैवी शक्ति रहेको विश्वास लागेको  स्याफ्रुका झाँक्री युवा कामीढिण्डुप तामाङले बताए ।  

गत्लाङ गाउँबाट दुईदिनमा पुग्न सकिने कुण्डमा यसवर्ष उत्तरी क्षेत्रका गत्लाङ, गोल्जुङ, चिलिमे, थुमनबाट तथा जिल्लाभरीबाट यात्रीहरू आउछन् । गत्लाङको पार्वतीकुण्ड हुँदै विभिन्न किसिमका रमणीय प्राकृतिक दृष्यहरू अवलोकन गर्न सकिने भएकोले यहाँको पर्यटकीय सम्भावनालाई ध्यान दिएर यसवर्ष जागेश्वर कुण्ड मिनी मेला मेलाको आयोजना गरिएको गत्लाङका गाविसका सहायक छेवाङ तामाङ बताउँछन् । 

गत्लाङबाट पार्वतीकुण्ड, गोठेन, माङचेत, नाग कुण्डहुँदै युब्री खर्क पुगिन्छ । यहाँबाट लाङटाङ हिमालको रमणीय दृष्य देख्न सकिन्छ । यहाँबाट खुर्पुभन्ज्याङ हुँदै याग्रा खर्क पुगिन्छ यहाँबाट पाल्दोर पिक, गणेश हिमाल, गोसाँईकुण्ड गत्लाङ गाउँको रमणीय दृष्यहरू देख्न सकिन्छ । 

जागेश्वर कुण्डबाट ककनी, त्रिशुली, गणेश हिमाल लाङटाङ हिमाल देखिन्छ । यस्ता पर्यटकीय सम्पदाको संरक्षण गर्न युवाहरू जुटेर लागेका छन् पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउन सवै सरोकारवालाहरूलाई अग्रह गरिएको गत्लाङका फुर्पुसिङ्गी तामाङले बताए ।  

‘उनीहरूलाई राम्रो खानपान र पर्यटकलाई नकरात्मक असर पर्ने काम गर्नु भएन पर्यटन व्यावसाय फस्टाउछ उनले भने । ’ बेत्रावतीबाट ठुलोगाउँ, डाडाँगाउँ, हाकु, गे्र गाउँबाट गत्लाङ हुँदै जागेश्वर कुण्ड भएर चिलिमेको तातोपानी पुग्ने पुरानो पर्यटकीय पदमार्गमा अहिले पनि विदेशि पर्यटक आउने गरेको र प्रचार तथा भौतिक विकास गरेर पर्यटक आगमनमा बृद्धि गर्नु पर्ने स्थानीय युवा विकास लामा बताउँछन् । 

यहाँबाट साङजेन खर्कहुँदै तातोपानीबाट नागथली पुग्न सकिन्छ । बीच बीचमा बिभिन्न भ्युप्वाईटहरू बन्ने सम्भावनाका ठाउँहरू छन् । 

धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल जागेश्वर कुण्डमा दर्शन गर्नाले पापबाट मुक्ति पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि जागेश्वर कुण्ड पुग्छदन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ ।

बाटोघाटोको निर्माण हुन सकेमा मात्र पर्यटक आगमनमा बृद्धि हुने देखिन्छ यस ठाउँले गोसाँईकुण्ड र लाङटाङको जत्तिकै पर्यटक आर्कशित गर्न सक्छ स्थानीय जीवन लामाले भने । 

कुण्डको संरक्षणमा सम्बन्धित क्षेत्रले चासो दिएका यहाँका जनताको आय आर्जनमा टेवा पुग्ने निकै सम्भावना छ । बाटो निर्माण गरी ठाउँ ठाउँमा विश्राम स्थल , चिया पसल , निर्माण गर्न सकेमा जिल्ला मात्र होईन देश विदेशका पर्यटक यहाँ पदयात्रा गर्न आउने भएकाले उचित विकासका लागि पहल गर्न आवश्यक रहेकाे बताउँछन् । 




सकारात्मक धारणा नरहेको कुण्ड : छोना अर्थात् भैरव कुण्ड

 


गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् ।


    संक्षिप्त जानकारी

    कुण्डको नाम : भैरवकुण्ड (Bhairav kunda)

    तामाङ भाषामा : छोना

    शेर्पा भाषामा :

    तिब्बतीयन भाषामा :

    नेवारी भाषामा : 

    अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)

    अक्षांश : २८° ४' ८५'' पूर्व

    देशान्तर : ८५° २४' ६०'' उत्तर

    उचाई :  ४२६१ मीटर (१४६०० फिट)

    क्षेत्रफल : १६.७५ हेक्टर

    लम्बाई : ५५३ मीटर

    गहिराई : ५८.१ मीटर

    वरपरका अन्य प्रमुख कुण्डहरू : गोसाइँकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड

     


    छोना अर्थात् भैरवकुण्डको परिचय 

    गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् । यस कुण्ड प्रति सकारात्मक धारणा नरहेको पाईन्छ । ब्रम्हाको शीर छेदन गरेको पापले गुप्ताङ्ग रोगले कुरुप भएका भगवान् शिवजीले गोसाइँकुण्डभन्दा मुनी कुण्ड सिर्जना गरी बिराजमान रहनुभएको भन्ने हिन्दु धार्मिक कथन छ । सत्ययुगमा देवता र दानव मिली गरेको समुद्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष सेवनबाट डाहा भएका शिबजीको पसिना छुटी सोही पसिना जमेर कुण्ड निर्माण भएको भन्ने भनाई रहेको छ । विषयुक्त पसिनाबाट निर्मित कुण्ड भएको हुनाले यहाँ विषालु नागहरू रहेका छन् भनेर विश्वास गरिन्छ । कालो देख्दैमा डरलाग्दो भएको र केही किंबदन्ती अनुसार यस कुण्डमा तीर्थालुहरू स्नान गर्न जाँदैनन् । अझ भन्नै पर्दा गोसाइँकुण्डबाट फर्कँदा यस कुण्डलाई हेर्न हुँदेन पनि भनिन्छ ।

    बौद्द धर्मानुसार यो कुण्ड भगवान् शिबजी (महादेउ) का दाजु छोनाले निर्माण गरेका हुन् भनिएको छ । जुन् कथन धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड लेखमा उल्लेख गरिएको छ ।

    नेपालका गोले थरका मानिसहरू प्राय ‍:  यस कुण्डमा जाँदैनन् । किंबदन्ती अनुसार गोले थरका एक झाँक्री कुण्डका भैरव वा नाग सँग लडाई गर्ने उद्देश्यले सँगै रहेकी पत्नीलाई म कुण्डबाट ननिस्किएसम्म तिमीले ढ्याङ्ग्रो बजाउनु, म नागसँग जुधेर बाहिर लिई आउँछु, बाहिर आएपछि तिमीले अक्षता छर्कनु तर ढ्याङ्ग्रो बजाउन नछोड्नु भनी कुण्डमा पसे । तन्त्रमन्त्रसहित केहीबेरको लडाई पश्चात् नागसँग बेरिएर बाहिर निस्कँदा श्रीमती डराएर ढ्याङ्ग्रो बजाउन छोडी, अक्षताले पनि नहिर्काई भागेको हुनाले नागले लडाई जितेर उनलाई नागले मारेको भन्ने जनविश्वास रही आएको छ । सोही कारण हालसम्म पनि गोले थरका मानिसहरू भैरबकुण्ड-गोसाइँकुण्ड समेत् प्राय: जाँदैनन् । 

    आकर्षण तथा महत्व

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

    -         वीर अमरसिंह थापाको गुफा

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन 

    कसरी पुग्ने भैरवकुण्ड ?

    १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

    २)        रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

    ३)        नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

    ४)        नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

    ५)        काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

    ६)        काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

    ७)        सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

     

     


    भैरवकुण्डसँग सम्बन्धित केही कविताहरू 


    नीलकण्ठ महिमा - डा. सत्यराज थपलिया

    धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।

    बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।

    कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।

    अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।


    कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।

    साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।

    हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादैै अहो !

    साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।





    Sunday, April 21, 2024

    वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

    वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

    पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ ।


      वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

      गोसाइँकुण्ड-भैरवकुण्डबाट भैरव झर्ना भई झरेको पानी जमेर बनेको कुण्ड नै सरस्वती कुण्ड हो । यसको स्थानीय नाम 'वाङ्लत्ती' हो । लौरीबिनाबाट दक्षिणतिरको खोचमा रहेको यस कुण्डलाई स्थानीयहरू 'ह्‌युम ससबारी' भनेर पनि पूजा गर्दछन् । ससबारी देवीलाई वर्षेनी एउटा कुखुराको बलीसहित् पूजा गर्नुपर्दछ, पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ भने अन्य तीर्थालुहरू इच्छुकहरू कुण्डमा नै पुगेर पूजा गर्ने गर्दछन् ।

      धार्मिक कथन अनुसार गोसाइँकुण्ड स्नान गर्न आएकी विद्याकी देवी सरस्वती माता यहाँको सौन्दर्यप्रति मोहित भएर यही कुण्ड सिर्जना गरी बिराजमान भएको उल्लेख छ । 

      वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड वरपरको आकर्षण

      •  रमणीय दृश्यहरू
      • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका मनोरम छटाहरू
      • वन्यजन्तु र वनस्पतिहरू
      • लोपोन्मुख वन्यजन्तु र वनस्पतिहरू
      • भौगोलिक तथा वानस्पतिक विविधता
      • अन्य तालहरू र झरनाहरू

      वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड कसरी पुग्ने ?

      यस कुण्डलाई प्राय तीर्थालुहरूले टाढैबाट दर्शन गर्ने गर्दछन् । विकसोन्मुख पर्यटन मार्ग कालिकास्थान- जुरेढुङ्गा- परालथला मार्गबाट जाँदा यस कुण्डमा सहजै पुग्न सकिन्छ । अर्थात् गोसाइँकुण्ड यात्राबाट फर्कँदा यो कुण्डहुँदै फर्कन पनि सकिन्छ । यस कुण्डबाट नौकुण्ड क्षेत्रमा पुग्न सकिन्छ ।

      वाङ्लत्ती अर्थात् सरस्वती कुण्डसँग सम्बन्धित अन्य सामग्रीहरू

      1

      Saturday, April 20, 2024

      गणेशकुण्ड एक परिचय

       


      गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।



        गणेश कुण्डको परिचय

        रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा पर्ने गणेशकुण्डको बारेमा प्राय मानिसहरूलाई थाहा भएको छैन ।  गोसाइँकुण्डदेखि उत्तर-पश्चिममा अवस्थित गणेश कुण्डको निकास  कुण्ड परिसरबाट झरेको नदेखिए पनि केही तलबाट भने  लाङटाङ, पदमार्गको लामाहोटल (चामडोल) को पारीपट्टि लाङटाङ खोलामा निकास झरेको छ ।

        गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।  

        सत्ययुगमा देवता र दानव मिली समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष पृथ्वीको रक्षार्थ भगवान शिवले निल्नुभयो, तत्‌पश्चात् डाहा भई शान्त हुन निलाद्री पर्वतमा रहेको यस स्थानमा आएर गोसाइँकुण्डलगायतका कुण्ड उत्पत्ति गर्नुभएको धार्मिक कथन रहेको छ ।

        सोही समयमा यस गणेश कुण्डको उत्पत्ति भएको विश्वास रहेको छ  । गणेश महादेवको पुत्र भए अनुसार गणेशकुण्ड पनि महादेव कुण्ड वा गोसाइँकुण्डको पुत्रको प्रतिकको रूपमा मानिन्छ ।  

         

        गणेश कुण्ड वरपरका महत्व र आकर्षण

         रमणीय हिमश्रृङ्खला,

        विभिन्न अन्य तालहरू,

        खहरेको रमणीय दृश्य,

        सूर्योदय तथा सूर्यास्तका दृश्य,


        कसरी पुग्ने गणेशकुण्ड ?

        रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्डबाट उत्तर-पश्चिमतर्फ रहेको भ्यु प्वाइन्टबाट




        Thursday, August 24, 2023

        कमै सुनिएको कुण्ड : चिलिमेको ग्रुब्राकुण्ड

         बोल्न नसकेका  बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।



          ग्रुबाकुण्डको परिचय

          रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ टेकाङ्चे र सिम्बु क्षेत्रको ठीक माथि टेताङ्चेमा रहेको गुब्रा कुण्डको नाम कमै मानिसले मात्र सुनेका छन् ।

          विभिन्न बिशेषता रहेको यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

          प्रायः स्थानीय समुदायको मात्र आवागमन हुने यस कुण्डका विभिन्न विशेषताहरू रहेका छन् ।


          ग्रुबाकुण्ड तथा यस क्षेत्रका आकर्षणहरू

          - नेपालको उत्तराखण्डमा रहेको १०८ कुण्ड मध्ये यो गुब्राकुण्ड पनि एक हो ।
          - यो कुण्डमा स्नान र पुजा आराधना गर्दा धार्मिक लाभ प्राप्त भइ आफुले सोचेका सबै खालका मनोञ्कांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
          - बोल्न नसकेका बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।
          - यस क्षेत्रमा अवलोकनका लागि तामाङ संस्कृतिको भेषभूषा नाँचगान, हिमाली कुनाको गाउँ बस्ती
          - १४ दशमलव आठ मेगावाट क्षमताको अपर साङ्जेन जलविद्युत् केन्द्र , रामरामको भीर , तिलुचे बगर, मिश्रित वनस्पति, दर्जनौं प्रजातिका जनावर आदि यस क्षेत्रका आकर्षणहरू हुन् ।

          कसरी पुग्ने ग्रुबाकुण्ड ?

          - काठमाडौंबाट त्रिशूली, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्वुचेत, चिलिमे गाउँ हुँदै यहाँ पुग्न सकिन्छ ।
          - कुण्डको नजिकैसम्म सडक मार्ग रहेको छ । अशक्तहरू पनि जान सक्ने ।

          यो सामग्रीको बारेमा तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

          सन्दर्भ स्रोत : ज्ञानु दाईको फेसबुकबाट

          Wednesday, August 16, 2023

          गुमनाम : रिभरकुण्ड

          River Kunda Rasuwa
          जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।  


            रिभरकुण्डको परिचय

            रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका-३ मा ४३४० मीटर उचाईमा अवस्थित रिभरकुण्ड आवास पूर्वाधार तथा प्रचारप्रसारको अभावले कमै मानिसले यो कुण्डको नाम सुन्ने गरेका छन् ।

            स्याफ्रुबेंशी हुँदै बृद्दिम गाउँबाट यस कुण्डको लागि यात्रा तय गर्न सकिन्छ ।

            हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण थरी – थरीका फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ यो यात्रामा । साँच्चै प्रकृतिमा थरी थरीका दृष्यहरु रहेका छन् । मनोरम दृष्यले भरपुर रिभरकुण्ड मार्गबाट गणेश हिमाल लाङटाङ तिब्बेत हिमाल लगाएत थुप्रै हिमाली तथा रमणीय खर्कहरु रहेका छन् । यस क्षेत्रमा बिदेशी पर्यटक आउने वातावरण बनाउन सम्बन्धित क्षेत्र र सञ्चारका माध्यमले ध्यान दिन सके उचित विकास हुने देखिन्छ ।

            जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।


            रिभरकुण्ड क्षेत्रका आकर्षणहरू

            .......................

            कसरी पुग्ने रिभरकुण्ड

            राजधानीबाटयात्रा रसुवाको उत्तरी स्याफ्रुबेशीसम्म सवारी साधनको प्रयोग गरी बजारबाट पैदल यात्रा सुरू गर्नु पर्छ । एकदिनको बृदिम होम स्टेको बास बसी स्थानीय परिकारका खानपान र गाउँलेको न्यानो स्वागत सत्कार पछि दोस्रो दिन गोदेगाङ पुग्न सकिन्छ (गोदेगाङ भनेको तिब्बेतियन भाषामा गोठै गोठ भएको डाँडा हो) ।

            त्यहाँबाट भोलिपल्ट लिङब्रे खर्क बास बस्न पुगिन्छ । रमणीय खर्कहरु वनस्पति, वन्यजन्तुहरु जस्ता विभिन्न दृष्यहरुले आनद लिदै त्यसपछि अर्कोदिन रिभरकुण्ड पुगेर सो दिन कुण्डमा स्नान गरि फर्कदा पुनः लिङब्रे खर्क वा अलि हिड्न सक्नेले बेरके खर्क बास बस्न पुग्न सकिन्छ । पद यात्रीले एउटै मार्ग भन्दा फरक मार्गबाट फरक दृष्य हेर्न पाईने भएकाले जाँदा फर्कदा नयाँ मार्ग भएर बिभिन्न दृष्यहरु देख्न सकिन्छ ।

            लिङब्रे खर्क वा बेरके खर्कको बास पछि अर्को दिन सजिलै अर्को बासका लागि ठूलो लार्क्याप डाडा पुग्न सकिन्छ । अर्कोदिन ठूलो पाङसाङ खर्क पुगिन्छ । त्यहाँबाट लाङटाङगाउँ निकै तल देखिन्छ । सात दिनको प्याकेजमा रिभरकुण्ड रुटको यात्रा तय सकिन्छ ।

            त्यहाँबाट थुप्रै रमाईला दृष्यहरु देखिन्छ जसले यात्राको थकान मेटाउछ । जस्ता बाटोमा पर्ने विभिन्न स्थानबाट मनोरम हिमाली दृष्य र ठुला खर्कहरु देख्न सकिन्छ । यात्रा अबधिमा नेपाल र चीनका थुप्रै हिमाल र बस्तीका रमाईला दृष्यहरु देख्न सकिन्छ ।

            तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित


            यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनु भएको हो ।

            Monday, August 14, 2023

            ओझेलमा दुधकुण्ड (पेदाङ छो)

            फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।

             

              दुधकुण्ड (पेदाङ छो) को परिचय

              नेपाल चीन सिमाना अर्थात् गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने यो दुधकुण्डलाई स्थानीयहरू 'पेदाङ छो' भन्दछन् । यस कुण्डको पानी अन्यत्रको पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तै भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ ।

              फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।


              कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’

              विभिन्न प्रमाणको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पूर्णिमाका दिन मेला लाग्दछ । यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निर्क्यौल गर्नुपर्ने प्रचलन छ ।


              टिमुरेबाट २ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड समुन्द्री सतहबाट करिव ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट, सुरम्य वातावरण थरिथरिका फूलको वासना, मृग उफ्रेका र डाँफे चरी नाँचेको देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभिन्न थरिका मनोरम दृष्यहरूले चुनौतीपूर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्छ एकपटक पुग्नै पर्ने गन्तव्य रहेछ दुधकुण्ड ।

              धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल दुधकुण्ड तर्फको यात्रा गर्दा तीर्थयात्रीले फरक मार्ग आउने जाने र फरक दृष्य हेर्न पाईने सुविधा छ । जाँदा घट्टेखोला र फर्कदा खैदीहुँदै टिमुरे फर्कने मार्ग छ । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्दछन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने र बच्चा पैदा नभएसम्म घरमा पूजा गरेर राख्नुपर्ने जनविश्वास रही आएको छ ।


              दुधकुण्ड र वरपरका आकर्षण तथा महत्वहरू

              -- यात्राभर नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू वनस्पति, वन्यजन्तुहरू जस्ता विभिन्न दृष्यहरू देख्न सकिन्छ ।
              -- प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ ।
              -- सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ ।


              -- दुधकुण्ड क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको छ ।

              -- आउँदा र जाँदा फरकफरक मार्गको प्रयोग र फरक फरक दृश्यावलोकन ।


              कसरी पुग्ने दुधकुण्ड (पेदाङ छो)

              -- टिमुरेको घट्टेखोलाबाट, धुम्बाबु, धोजु, तोङया नालुङखर्क, लाङटाङ बासा, चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ ।
              -- यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ, थाङसेम्बु, ब्राङगा हुँदै फर्कन सकिन्छ ।


              तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


              सन्दर्भ स्रोत : हेमनाथ खतिवडाको ब्लग





               
              दुध कुण्ड (पेदाङ छो)

               

              Thursday, August 10, 2023

              नौ वटा कुण्डहरूको समूह : नौकुण्ड एक परिचय

              प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।
               

                नौकुण्ड क्षेत्रको परिचय

                रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं २ मा ४००० मीटरदेखि करीब ५३०० मीटर उचाईसम्म फैलिएका नौ वटा कुण्डहरूको समूहलाई नौकुण्ड भनेर चिनिएको छ । स्थानीयहरू यसलाई नाउकुण्ड भनेर चिन्दछन् । नौकुण्डका समूहभित्र पर्ने नागकुण्ड वा नाउकुण्ड नै मुख्य नौकुण्ड हो भनेर भनिएको छ ।

                नौकुण्ड क्षेत्रका तालहरू

                स्थानीयका अनुसार जनैपूर्णिमाका बेलामा गोसाइँकुण्डमा फोहोर मैला हुने हुनाले शिबजी सो अवधिमा यहाँ आउने गर्दछन् । जनैपूर्णिमा वा गंगा दशहरामा यहाँ स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रही आएको छ ।

                प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।

                यही कुण्ड वा क्षेत्रको नामबाट नै यहाँको गाउँपालिकाको नामाकरणसमेत् नौकुण्ड रहेको हो । यस नौकुण्डका समूहमा पर्ने कुण्डहरूमा १. लामो अर्थात् लम्बे कुण्ड, २. नाउ/नागकुण्ड, ३. राजा कुण्ड, ४. रानी कुण्ड, ५. कामी कुण्ड ६. एक्ले कुण्ड ७. ज्याकसन्चुली कुण्ड, ८. चिता कुण्ड, ९. कमिनी कुण्ड ।

                यहाँ रहेका कुण्डहरूको नामाकरण अन्धधुन्ध जस्तै छ । ओझेलमा परेको हुनाले यसस्थानका कुण्डहरूको नामाकरणमा विविधता आएको हो । स्थानीयका अनुसार यस नौकुण्ड समूहभित्र तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शीर कुण्ड रहेका छन् ।९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा छ ।

                नौकुण्ड क्षेत्रका मुख्य आकर्षणहरू

                -- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र तथा विविध वनस्पतिहरू, वन्यजन्तुहरूको वासस्थान (लोपोन्मुख रेडपाण्डाको बासस्थान), विभिन्न प्रकारका फूलहरू, चराचुरूङ्गीहरूको अवलोकन, चौरीगोठ र भेडागोठहरूको अवलोकन

                -- यस पदमार्गमा प्राय सबै किसिमका लालीगुँरासका फूलहरू पाईन्छन् ।

                -- कुण्डैकुण्डहरूको क्षेत्र

                -- विभिन्न हिमालहरू, पहाडी श्रृङ्खलाहरूको अवलोकन ।

                -- सूर्योदय र सूर्यास्तका मनोरम दृस्यहरू ।

                -- तामाङ, शेर्पा संस्कृति र परम्परा

                कसरी पुग्ने नौकुण्ड ?

                यहाँ पुग्नका लागि विभिन्न मार्गहरू रहेका छन् । पदमार्गको विवरण यसप्रकार छ ।

                -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै जुरेढुङ्गो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ-कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै

                -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै लाङ्बु (विजिली जोङ्ग) – थाङ्दोर-स्याङ्ग्युल, सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै

                -- रसुवाको सदरमुकाम धुन्चे वा स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविना, गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै

                -- नुवाकोटको बिदुर-लच्याङ, सरमथली (निर्कुभूमे), पार्‍च्याङ, यार्सा हुँदै सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै

                -- काठमाण्डौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर (शिखरबेशी) उर्लेनी-राउचुली हुँदै

                -- काठमाण्डौंको सुन्दरीजल-चिसापानी- कुटुमसाङ-ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

                -- सिन्धुपाल्चोकको मेलाम्चीपुल बजारबाट तार्केघ्याङ--ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

                तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला

                Monday, July 17, 2023

                धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

                यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ ।

                Gosainkunda and Bhairav Kunda Rasuwa
                गोसाइँकुण्ड र भैरवकुण्ड । फोटो स्रोत : Wiki Media Commons 

                  गोसाइँकुण्डको परिचय

                  वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड ।


                  'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।


                  संक्षिप्त जानकारी

                  • कुण्डको नाम : गोसाइँकुण्ड (Gosainkunda)
                  • तामाङ भाषामा : ग्यो, छोकर, ह्‍वे
                  • शेर्पा भाषामा : घ्यो
                  • तिब्बतीयन भाषामा : छो
                  • नेवारी भाषामा : शिलु
                  • अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)
                  • अक्षांश : २८° ५' ००'' पूर्व
                  • देशान्तर : ८५° २४' ९६'' उत्तर
                  • उचाई : ४३८० मीटर (१४६०० फिट)
                  • क्षेत्रफल : १३.८० हेक्टर (०.१३८ वर्ग किमी)
                  • लम्बाई : ६२५.५५ मीटर
                  • चौडाई : ३०२ मीटर
                  • गहिराई : २६ मीटर
                  • पानीको आयतन : १४.७२० लाख घनमीटर
                  • प्रतिसेकेण्ड कुण्डमा आउने पानी : ३५ लिटर
                  • प्रतिसेकेण्ड कुण्डबाट बाहिर जाने पानी : ६० लिटर
                  • वरपरका अन्य प्रमुख कुण्डहरू : भैरवकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड



                  'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।



                  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ (साविक स्याफ्रु गाविस-५) मा समुद्री सतहबाट ४३८० मीटर (१४६०० फिट) उचाईमा रहेको तो ताल १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । करीव २६ मीटर गहिराई भएको यो कुण्डको लम्बाई ६२५.५५ मीटर चौडाई ३०२ मीटर रहेको छ । यस कुण्डमा प्रतिसेकेण्ड ३५ लिटर पानी भित्रिन्छ भने प्रतिसेकेण्ड ६० लिटर पानी बाहिरिन्छ ।

                  हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । 

                  लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्राकृतिक छटाले परिपूर्ण भएर जमिरहेको वरपरका अन्य कुण्डहरूसहित यस कुण्ड संरक्षण तथा संवर्दनको अभिप्रायले असोज ५, २०६४ (23rd September 2007) मा (१०३० हेक्टर क्षेत्र) रामसार सूचिमा सूचिकृत गरिएको छ । यस क्षेत्रमा लोपोन्मुखसहित विभिन्न प्रजातिका वनस्पतिहरू, जडिबुटी र वन्यजन्तुहरू रहेका छन् । धार्मिक आस्थासहित वानस्पतिक वा जैविक विविधताभित्र रहेर यस कुण्डले वर्षेनी हज्जारौं आन्तरिक तथा वाह्‍य पर्यटकहरूलाई भित्र्याईरहेको छ ।

                  वर्षैभरि यस स्थानमा तीर्थालु वा पर्यटकहरू आउने भएपनि विशेष गरी गंगादशहरा र जनैपूर्णिमाका समयमा विशेष मेला लाग्ने गर्दछ ।

                  यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार सत्ययुगमा भगवान शिवजीले यस कुण्ड सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट् । त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

                  त्यस्तै बौद्द धर्म अनुसारको कथन भिन्न रहेको छ । रसुवाली फूर्पा तामाङले 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति' नामक पुस्तकका उल्लेख गरेका कथन यसप्रकार रहेको छ । महादेव (महादेउ) का दुई दाजुभाई थिए । महादेउका दाजु 'छोना' थिए । उनीहरू बस्नका लागि स्वच्छ ठाउँ खोज्दै हिँडेछन् । सबैभन्दा पहिला काठमाण्डौं आईपुगे । त्यहाँबाट साँढे रूप धारण गरेर नमिबुद्द (तामालोजेन) बाट पाँचपोखरी हुँदै कालो गंगा पुगेछन् । ती स्थानहरूमा उनीहरूलाई बस्न मन लागेन र घुम्दै बेत्रावती आईपुगे । बेत्रावतीबाट भार्खु गाउमा आईपुगे । भार्खुमा कुण्ड बनाएर बस्दा गाईवस्तु र मानिसको आवतजावत हुने हुँदा फोहोरसमेत् हुने भएकोले त्यहाँबाट अलि माथि लेकमा 'सपिङ ग्यो' मा कुण्ड बनाएर बसे । त्यहाँ पनि उपयुक्त वातावरण नभएपछि अझै स्वच्छ ठाउँको खोजी गर्दै नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसे । त्यहाँ पनि वातावरण नभएपछि अर्को सफा ठाउँ खोजेर तिमीलाई लिन आउँछु भनेर दाजुले भाईलाई भनेछन् तर धेरै समय बित्दा पनि दाजु नफर्केपछि महादेउ खोजीमा निस्के ।

                  चोलाङ माथिको गुराबमा पुगेर ध्यान गरी हेर्दा पनि दाजु कहाँ छन् भनेर पत्ता लगाउन सकेनन् र पनि अन्तस्करणले पूर्वपट्टि लाग्न सुझाब दियो । लौरीबिनाको नौक्याग्याङमा पुगेर हेर्दा दक्षिणतर्फ दाजु कुण्ड बनाई असल ठाउँमा बसेको देखेछन् र राम्रो ठाउँ पाएपछि भाईलाई बिर्सेको उनले चाल पाए र मनमनै भने मैले दाजुको चिन्ता गरें, राम्रो ठाउँ पाएपछि भाईलाई पनि बिर्सँदा रहेछन् । मेरो मनमा पाप भए मैले दाजुको भन्दा नराम्रो ठाउँ पाउँ र दाजुको कुण्डमा नुहाएको पानी मेरो कुण्डमा आओस् । यदि दाजुको मनमा पाप भए दाजुको भन्दा मैले राम्रो ठाउँ पाउँ र मेरो कुण्डमा नुहाएको पानी दाजुको कुण्डमा जाओस् ।

                  मनमनै यति भनेर त्रिशूलले पहरामा एकपटक हान्दा ह्‍युम पार्वतीको स्तनमा लागेर दुध निस्केछ । दोस्रोपटक हान्दा गंगालाई लागेर पानी निस्केछ । दुध र पानी मिसिएको हुनाले सेतो रंगको कुण्ड उत्पत्ति भयो । पहिले गोसाइँकुण्ड सेतो थियो भनिएको छ । त्यसैले तामाङहरूले यस कुण्डलाई 'छोकर' (सेतो कुण्ड) भन्ने गर्दछन् । किंवदन्ती अनुसार महादेउको मन सेतो हुनाले सेतो कुण्ड अर्थात् गोसाइँकुण्ड बन्यो र दाजुको मन कालो भएको हुनाले कालोकुण्ड अर्थात् भैरवकुण्ड बन्यो ।

                  जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

                  अमरसिंह थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्रको देहवसान र 'अमरसिंह गुफा' गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

                  पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् । पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् ।



                  गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही कविताहरू



                  नुवाकोट, थानसिङ निवासी डा. सत्यराज थपलियाले 'नीलकण्ठ महिमा' nullमा लेख्नुभएको गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि कविता यहाँ प्रस्तुत गरिन्छ ।

                  गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।
                  त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।
                  बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।
                  घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

                  धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।
                  पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।
                  खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।
                  देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

                  बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।
                  आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।
                  नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।
                  जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

                  धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।
                  बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।
                  कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।
                  अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।

                  कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।
                  साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।
                  हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादै अहो !
                  साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।

                  हे भूतेश ! उमापते ! पशुपते ! हे भर्ग ! हे शङ्कर !
                  हे सर्वेश्वर ! चन्दशेखर ! विभो ! हे रुद्र ! गङ्गाधर ।।
                  हे विश्वेश्वर ! विश्वपालक प्रभो ! हे धर्मधारे ! शिव !
                  पाऊँ दर्शन नीलकण्ठ ! भगवन् ! हाम्रो नमस्कार छ ।।७४।।

                  नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।

                  गोसाइँकुण्ड क्षेत्र तथा वरपरका आकर्षणहरू

                  - धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
                  - विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत
                  - वीर अमरसिंह थापाको गुफा
                  - लोपोन्मुख रेडपाण्डा अवलोकन
                  - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।
                  - लोपोन्मुख जडिबुटीहरूको भण्डार ।
                  - हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।
                  - प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।
                  - नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
                  - सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
                  - माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

                  कसरी पुग्ने गोसाइँकुण्ड

                  गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

                  १) रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

                  २) रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

                  ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

                  ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

                  ४) नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

                  ५) काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

                  ६) काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

                  ७) सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

                  गोसाइँकुण्ड क्षेत्र विकास सम्बन्धि जानकारी

                  Comming Soon....