ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Articles. Show all posts
Showing posts with label Articles. Show all posts

Friday, April 12, 2024

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका


शैली खतिवडा

 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

 

मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




Wednesday, April 3, 2024

छत्र, भजन र बालुननाँच : एक परिचय

हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए, आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं, खेलना सैं आए आज बसे ललना ..

 


"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । 

यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षे तन्नेरीदेखि सत्तरी वर्षे बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच, छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ ।


छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्षक छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो । समाजमा यस्ता कार्यले सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याईरहेको छ ।

 

रसुवामा छत्रनाँचको शुरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

 

 

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरंगी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

 

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कीर्तन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ । छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

 

विभिन्न समारोह, महोत्सव तथा विभिन्न संघ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री संकलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

 

छत्र नाचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ । 

 


जस्तै :

औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम .......

 

तिमरा नगरीमा खेलन आयौ

आज्ञा देउ धरती माता ।।

तिमरे चरण चित्त लाउँ माता मालिका, मनले चिताको वर पाउँ माता मालिका ।

 

 

छत्र उठाइएको वा निमन्त्रणा भई आएका घरमा नाँच्न जम्मा हुने जमातलाई 'छत्रीय भाइ' भनिन्छ । मुख्य गुरू वा छत्र राखिएको घरमा निम्तो दिएपछि अरु छत्रीय भाइलाई गुरूले नै बोलाउने चलन छ । बेलुकी सबै छत्रीय भाई मिलेर छत्र नाँच्नको लागि तयारी गरिन्छ । नाँच र कीर्तन गर्नु अघि आवश्यक पर्ने खैजडी, मञ्जीरा तथा विविध वाद्य बादनको सामग्रीको जोहो गरिएको हुन्छ ।

 

"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । बाटामा रमाईला रमाईला भजन कीर्तन गर्दै छत्रीय भाइहरू सम्बन्धित घरमा पुग्छन् । जयजयाकार गर्दै पाहुना आएको खबर दिन्छन् । खैजडी र मञ्जीराको तालबाट ...पाहुना आए राम खेलन आए हरिकै पाहुना आए.. भनेर भजन गाउँछन् ।

 


पाहुना आए भन्ने पाठ सकिए पछि खनी खनी देऊ बासै हार, लालमन मोहन हरि मन मोहन हो... भन्ने नाँच नाचिन्छ । त्यस पछि छत्र राख्नको लागि भक्तजनहरूले भजन गाउँदै यज्ञस्थल वा आँगनको माझमा रहेको किलामा छत्र राख्छन् ।

 

छत्र राखेको घरबाट छत्र उठाउँदा, त्यहाँबाट हिड्दा, नाँच्ने घरमा पुग्दा, त्यहाँ पुगेर छत्र राख्दा होस अथवा त्यहाँबाट हिड्दा होस सम्पूर्ण प्रकृया भजन -पाठ) मार्फत् मात्र गरिन्छ । छत्र उठाएको बेलामा मात्र नभई सत्यनारायणको पूजा लगाउँदा पनि छत्रनाँचमा गाईने भजनहरू गाईन्छन् । सन्ध्याकालीन आरती र नारायण हरि.. भन्ने भजन मुख्यतः त्यतिबेला पनि गाईन्छ । एकादशी महात्म्य, कृष्णचरित्र वा अन्य धार्मिक ग्रन्थमा रहेका कथालाई आधार मानेर बनाईएको भजनलाई बालुनको रूपमा प्रस्तुत गरिन्छ ।

 

यसरी हाम्रा समाजमा रहेका वा भएका संस्कृतिको युवा पुस्ताले ग्रहण गर्न सकेमात्र संरक्षण सम्भव छ । नत्र एकादेशको कथा बन्न सक्छ । युवा पुस्ताले नसिकेकोमा यसको लोप हुने संकेत छ । अहिलेका छत्रीय भाइले नाँच्दै गर्दा भिडियो डकुमेन्ट्रीको रूपमा भने पनि संरक्षण गर्न सके भोलिका पिँढीले अध्ययन गर्न पाउने थिए । अझ पर्यटन विकास गर्न त्यस्ता दृश्यहरू कोसेढुङ्गा बन्ने थियो । जुन जुन ठाउँमा यस्ता संस्कृति रहेका छन् ती ती ठाउँमा उक्त संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्न सके विदेशी वा स्वदेशी पर्यटक भित्र्याएर आर्थिक उन्नति गर्न सहयोग पुग्ने कुरामा सबैको मत एकै रहला ।

Monday, August 7, 2023

भैरव रिसालको लेख 'बेत्रावतीमा घुँडा टेक्दा'

 बेत्रावतीमा घुँडा टेक्दा 

बेत्रावती सन्धिको नालीबेली

नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो । सन्धिमा ६ दफा छन् । सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्‍यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि ‘अम्बा’ लाई अनुरोध गर्ने दफा पनि राखियो ।

Sunday, August 6, 2023

तामाङ जातिको विवाह संस्कार, उत्पन्न भ्रम, विवाद र वास्तविकता

फुपुचेला-मामाचेली विवाह संस्कार वा पद्धति

 @ सरोजमोहन लामा

खासमा विवाह पूर्व पनि यौन सम्बन्ध त हुने गर्दथ्यो नै तर विवाह भित्र यौन सम्बन्ध, सन्तान उत्पादन र सृष्टि वा वंशलाई निरन्तरता दिने कार्यलाई नै अत्यावश्यक चीजमा स्वीकारेको पाइयो । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक परम्पराहरू, प्रचलन, रीतिथिति, संस्कार संस्कृति र नीति नियम कानुन विकसित बन्न पुगे । यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थान अनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन् ।


    विगत केही दिन अघि प्राइम टेलिभिजनमा प्रसारित चिया गफ टक शोमा ‘शितल’ भनिने अधिवक्ता ‘भगवती पाण्डे’ ले तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित विवाह संस्कार वा पद्धतिको अभ्यासप्रति गलत ढङ्गले व्याख्या गर्नुको साथै आनुवंशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्ने गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति पश्चात् तामाङ जातिमा विशेष त फूपुचेला–मामाचेली विवाह संस्कार वा पद्धति बारे बहस र विवादहरू भइरहेका छन् ।

त्यति मात्रै होइनन् मुलुकमा त्यो विषयले अहिले कतिपय राज्य संयन्त्रमा प्रायः हिंस्रक जनवारहरूले मात्रै पो नेतृत्व गरिरहेका छन् कि क्या हो जस्तो भान पीडित समुदायलाई भइरहेका छन् । राजनीतिक तथा सामाजिक माहौल तातिरहेको छ, अशान्ति हुँदै गइरहेका छन् । सर्वप्रथम त उनीले समयमा नै उक्त गलत भनाई बोलेकोमा माफी माग्नुपर्थ्यो तर त्यो गरिएन । जब सो समुदायहरूले कानुन बमोजिम मुद्दा दर्ता गरे त्यसपछि उनीले ढिलो गर्दै शब्दमा कन्जुस्याइँ गरेर गल्तीको महसुस गरे । तत्पश्चात् राज्य संयन्त्रले उनीलाई तत्काल पक्राउ गर्न ढिला गरे ।

Monday, July 17, 2023

चार धाममध्येको एक धाम : उत्तरगया धाम

Betragangga Rudraganga TrishulGanga Rasuwa

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।
 हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। 
मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती 
गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२
(अप्र. नीलकण्ठ महिमा, डा. सत्यराज थपलिया)

डा. सत्यराज थपलियाको अप्रकाशित कृति नीलकण्ठ महिमामा उल्लेख गरिएको माथिका चार लाइन कविताबाट बेत्रावतीको उत्पत्ति तथा पौराणिक महत्व झल्कन्छ । एक पौराणिक किंवदन्ती अनुसार  सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको “हलाहल” नामक कालकूट विषले संसार दग्ध गराउन लाग्दा संसारको रक्षार्थ शिवजीले उक्त विष निल्नुभएको थियो । शिवजीले निल्नुभएको विष घाँटीमा अड्कन गएकोले उहाँलाई डाहा भएको र डाहा शान्त गर्न छट्पटिएर बेतको लौरो र त्रिशूल लिएर निस्कनु भएको शिवजी अहिले उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आइपुग्नु भएको थियो । पानी प्यास लाग्दा बेतको लौरीले खोपेर सबैलाई पुण्य दिने बेत्रावती नदीको उत्पत्ति भएको भन्ने परिचय माथिको कविताले दिएको छ । “त्यही पानी पिएर भगवान शिवले प्यास मेटाउनु भएको थियो” पौराणिक कथनमा उल्लेख गरिएको छ ।  


बेतको लौरीबाट उत्पत्ति भएकी “बेत्रावती” नदीका नामबाट नामाकरण हुन गएको यो स्थान रसुवा र नुवाकोट जिल्लामा पर्दछ । दुबै जिल्लामा बेत्रावतीको भू–भाग बराबर जस्तै भएपनि महत्वपूर्ण संरचना भने रसुवाका भूभागमा रहेका छन् । समुद्री सतहबाट ७१४ मी. उचाईमा अवस्थित बेत्रावती रसुवाको प्रवेशद्वार हो । पासाङल्हामु सडकखण्ड त्रिशूली बजारबाट ८ किमी उत्तर, फलाँखु, सलाँखु  र त्रिशूली नदीको त्रिसंगमको रूपमा रहेको बेत्रावती सबैको धार्मिक आस्थाको धरोहर बनेको छ । 

जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा 

यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।

पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।

चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।


रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने खालको भाव माथिको कविताबाट पाइन्छ । नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।  संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ  । 

                                                           

यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।

आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।

न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।

“गङ्गा वेत्र” भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

 

पौराणिक कालदेखि नै यहाँ स्नान गर्न धेरैस्थानबाट मानिसहरू आउने गरेका थिए भन्ने खालको कथन माथिको हरफबाट पाउन सकिन्छ । जब शिवजीले बेतको छडी मार्फत् गंगाजी उत्पत्ति गर्नुभो, त्यति नै बेला ऋषिहरूसहित किन्नर, यक्ष र मानिसहरू स्नान गर्न आएका थिए । हुनसक्छ, त्यसैको प्रतिफल आज यहाँ धेरै ठाउँबाट नुहाउन र तर्पण दिनकै लागि भनेर वर्षेनी हज्जारौं मानिसहरू आउने गर्दछन् ।

 

बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

 

रसुवालाई प्रवेशद्वार बनाएर पूर्वतर्फ भोर्ले, सरमथली र यार्सा र पश्चिमतर्फ नुवाकोटका फिकुरी, मनकामना रसुवाका ठूलोगाउँ, डाँडागाउँ, हाकु तथा गतलाङतर्फका पर्यटकीय मार्गहरूको विकास गर्न सकिने सम्भावना रहेको छ । केही मात्रामा पर्यटन व्यवसायी र राज्यका निकायबाट यसका विषयमा केही प्रयास भइरहेका भने छन् ।

 

माथि उल्लेखित पौराणिक तथा धार्मिक महत्व र सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लइमण, सीता, हनुमान, सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिसंगम बेत्रगंगा, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व र उत्सवको प्रवद्र्धन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

सम्बन्धित भिडिय ोह रू